काठमाण्डु – सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ४ का पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतले कोरोना जाँचका लागि आफ्नो स्वाब दिन अस्वीकार गरेका छन् ।
कन्ट्याक्ट ट्रेसिङका क्रममा बुधबार स्वाब संकलनका लागि जिल्ला जनस्वास्थ्य कार्यालयबाट गएको स्वास्थ्यकर्मी टोलीलाई पूर्वमन्त्री बस्नेतले स्वाब दिन अस्वीकार गरेका हुन् । पूर्वसञ्चारमन्त्री बस्नेतका बाबुको झन्डै १५ सय मलामी गएर दाहसंस्कार गरिसकेपछि कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
उनको परिवारले पीसीआर परीक्षण गर्न अस्वीकार गरिरहेको भन्दै बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले यसबारे आज विज्ञप्ति जारी गर्ने बताएका छन् । नगर प्रमुख शेर्पाका अनुसार स्वास्थ्यकर्मीको टोली उनको स्वाब लिन ५ घण्टा पर्खिंदा पनि उनले स्वाब दिन कानेनन् ।
एकदमै नजिकको परिवारले स्वाब दिन नमानेपछि अन्य नातेदार र छिमेकी गरेर २१ जनाको स्वाब संकलन गरी पठाइएको उनले जानकारी दिए । यता पूर्वमन्त्री बस्नेतले भने हिन्दू संस्कारअनुसार क्रियामा बसेका बेला १३ दिनसम्म कसैलाई छुन नहुने भएकाले स्वाब नदिएको बताएका गरेका छन् ।




प्रतिक्रिया