राष्ट्रिय फूटबलर विमल घर्ती मगरद्वारा सन्यासको घोषणा

राष्ट्रिय फूटबलर विमल घर्ती मगरद्वारा सन्यासको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली राष्ट्रिय फूटबल टोलीका फरवार्ड विमल घर्तीमगरले सक्रिय खेलजीवनबाट सन्यास लिएका छन् ।

उनले शनिबार सामाजिक सञ्जालमार्फत सन्यासको घोषणा गरेका हुन् ।

बुटवलबाट सुरु भएको आफ्नो फूटबल यात्रा राष्ट्रिय टोलीसम्म पुर्‍याउन निकै लामो र कठिन संघर्ष गर्नुपरेको उल्लेख गर्दै विमलले देशका लागि मनदेखि खेलेको बताएका छन् ।

‘बुटवलबाट सुरु भएको मेरो फूटबल यात्रा काठमाण्डु हुँदै राष्ट्रिय टोलीसम्म पुग्दा निकै लामो र कठिन रह्यो । मैले देशका लागि मनैदेखि खेलेँ र आफ्नो सबैथोक फूटबललाई नै दिएँ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

फूटबलप्रेमी तथा शुभचिन्तकले दिएको माया र साथप्रति आभार व्यक्त गर्दै उनले खेलजीवन टुंग्याउने निर्णय लिँदा आफू निकै भावुक भएको पनि बताएका छन् । ‘आज यो निर्णय लिँदा म धेरै नै भावुक भएको छु । सबैलाई एकमुष्ट धन्यवाद दिँदै मैले फूटबलको यात्रा यहीँसम्म टुंग्याएको छु,’ विमलले लेखेका छन् ।

उनले सन् २०१२ मा बंगलादेशविरुद्ध खेल्दै राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । राष्ट्रिय टोलीबाट ४४ खेल खेलेका विमलले ९ गोल गरेका छन् ।

उनले सन् २०१५ मा यु–१९ साफ च्याम्पियनसिप, सन् २०१६ मा बंगबन्धु गोल्डकप, दक्षिण एसियाली खेलकुदमा स्वर्ण र एएफसी सोलिडारिटी कपको उपाधि जितेका थिए । घरेलु फूटबलमा मच्छिन्द्र क्लबबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग जितेका विमलले नेदरल्याण्ड्समा युवा फूटबल खेलेका थिए ।