काठमाण्डु – बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई कोरोना परीक्षणका लागि स्वाब दिन आग्रह गरेका छन् ।
कन्ट्याक्ट ट्रेसिङका क्रममा बुधबार स्वाब संकलनका लागि जिल्ला जनस्वास्थ्य कार्यालयबाट गएको स्वास्थ्यकर्मी टोलीलाई पूर्वमन्त्री बस्नेतले स्वाब दिन अस्वीकार गरेपछि मेयर शेर्पाले बिहिबार एक विज्ञप्ति जारी गर्दै स्वाब संकलन गरेर सहयाेग गर्न आग्रह गरेका हुन् ।
बाह्रबिसे नगरपालिका–४ का पूर्वमन्त्री बस्नेतका बाबु खड्गबहादुरको उपचारका क्रममा २२ गते मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा निधन भएको थियो । उनको दाहसंस्कार गरिसकेको ५ दिनपछि कोरोना भाइरस संक्रमण भएको रिपोर्ट आएको थियो ।
संक्रमितका परिवारले नै स्वाब दिन नमानेपछि अन्य मलामी र नगरबासीमा त्रास फैलिएको भन्दै मेयर शेर्पाले ‘नगरवासी र अन्यको स्वास्थ्यप्रति सजग हुनका लागि सुरु गरिएको स्वाब संकलनमा सहयोग गर्नु मृतकका परिवारसहित संक्रमणको जोखिममा रहेका सबैको दायित्व भएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
यता पूर्वमन्त्री बस्नेतले भने हिन्दू संस्कारअनुसार क्रियामा बसेका बेला १३ दिनसम्म कसैलाई छुन नहुने भएकाले स्वाब नदिएको बताएका छन् ।




प्रतिक्रिया