यशोदा भुजेल
काठमाण्डु – नेपालसहित बिश्वका अधिकांश मुलुक कोरोना भाइरसको चपेटामा परिरहेका छन् । अमेरिका, इटाली जस्ता विश्वका शक्तिशाली राष्ट्रहरु पनि कोरोना भाइरसको संक्रमणबाट नराम्ररी प्रभावित बनिरहेका छन् ।
नेपालमा जनताको सुरक्षामा खटिएका नेपाल प्रहरी कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा जोखिममा छन् । कोरोना भाइरस संक्रमणको जोखिम न्युनिकरणका लागि अग्र पङ्तिमा रहेर काम गर्ने सुरक्षाकर्मी नै कोरोना संक्रमित हुने क्रम बढ्दै गएको छ ।
कोरोना संक्रमणको जोखिम न्युनिकरण गर्न सरकारले जारी गरेको निर्देशिका बमोजिम त्यसको कार्यान्वयनमा खटिएका सुरक्षाकर्मी नै संक्रमित हुने दर बढ्दो क्रममा रहेको छ ।
कोरोना भाइरसबाट ७ वटै प्रदेशका प्रहरीहरु संक्रमित भएका छन् । लकडाउन कार्यान्वयन, सीमामा खटिएका, अपराध अनुसन्धानमा खटिएका नेपाल प्रहरी र उनीहरूको सम्पर्कमा आएका अन्यलाई कोरोना संक्रमण देखिएको हो ।
यतिबेला प्रहरीले सरकारले तोकेको दायित्व मात्र निर्वाह गरेको छैन, सिमित साधनस्रोतका बाबजूद चुनौतीलाई साहशका साथ सामना पनि गर्दै आइरहेको छ ।
प्रहरीमा कोरोना संक्रमणको जोखिमः
नेपाल प्रहरीमा ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल संक्रमितमध्ये १८७ जना निको भएर नियमित काममा फर्किसकेका छन् भने १५१ जना विभिन्न अस्पतालमा उपचाररत रहेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कठायतले जानकारी दिए । उनले सबै संक्रमितको अवस्था सामान्य रहेको बताए ।
नेपाल प्रहरीले आफ्ना संगठनमा रहेका कर्मचारीहरुलाई कोरोना भाइरसको संक्रमणबाट जोगाउन उच्च सावधानी अपनाएको जनाएको छ ।
प्रवक्ता एसएसपी कडायतले कोरोना संक्रमणबाट जोगाउन नेपाल सरकारका तर्फबाट स्वास्थ्य मन्त्रालयले जारी गरेका प्रोटोकल अवलम्बन गरिएको जानकारी दिए ।
‘हामीले प्रहरी संगठनभित्र स्वास्थ्य मन्त्रालयको प्रोटोकलअनुसार सुरक्षाका सावधानीहरु अपनाएका छौं’, एसएसपी प्रवक्ता कडायतले भने, ‘स्याजिटाइजर, मास्कको प्रयाग गर्ने, सामाजिक दूरी कायम राख्ने लगायत स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिका अनुसार सावधानी अपनाइएको छ ।’
कुनै पनि व्यक्तिमा कोरोना संक्रमण पुष्टि हुनु भन्दा पहिले सुरक्षाकर्मीको सम्पर्कमा बढी आउने भएकाले सुरक्षाकर्मीहरुमा संक्रमण जोखिम बढेको उनले बताए ।
सीमा नाकामा नेपाल प्रहरीको भूमिकाः
सीमा नाकामा नागरिकहरुको व्यवस्थापन, क्वारेन्टाइन व्यवस्थापनमा बढी खटिनुपर्ने भएकाले भौतिक दुरी कायम गर्न नसक्दा, ड्युटीमा रहेको समयमा पनि स्यानिटाइजरको प्रयोग नगर्दा लगायत अन्य स्वास्थ्य सुरक्षाका उपाय नअपनाउनाले प्रहरी संगठनमा संक्रमणदर बढ्दो अवस्थामा छ ।
त्यस्तै सरकारले भारतबाट प्रवेश गर्ने १० वटा मात्र नाका सञ्चालनमा ल्याएको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ मसान्तसम्म अन्तराष्ट्रिय नाकाहरु नखोल्ने निर्णय गरेपछि सीमा नाकाका थप कडाई गरिएको छ । कोरोना भाइरसको नियन्त्रणसँगै नेपाल प्रहरीले सीमा नाकामा पनि सशस्त्र प्रहरीको समन्वयमा रहेर काम गरिरहेको छ ।
प्रवक्ता कठायतले भने, ‘सीमा नाकामा खटिएका प्रहरीले नेपाल प्रवेश गर्न खोज्नेलाई नेपाल सरकारको नीति अनुरुप स्थानिय जनप्रतिनिसँग समन्वय गरी कवारेन्टाइनमा राख्ने, स्वास्थ् जाँच गर्ने, नाका सिल गर्नेजस्ता कार्यहरु गर्दै आइरहेको छ ।’
त्यस्तै लकडाउनको लामो समयसम्म चुपचाप बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय परीक्षणको दायरा बढाएको छ ।
जोखिममा रहेर काम गर्ने स्वास्थ्यर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुको अवस्थालाई मध्यनजर गर्दै पीसीआर र आरडिटी परीक्षणलाई तिव्रता दिइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनले स्वास्थ्यकर्मीहरु तथा सुरक्षाकर्मीलाई सावधानी अपनाएर उपचारमा खटिन आग्रह गरे ।




प्रतिक्रिया