बलिउड नायक टाइगर श्रोफमाथि मुम्बईमा गोली प्रहार, चालक घाइते

बलिउड नायक टाइगर श्रोफमाथि मुम्बईमा गोली प्रहार, चालक घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेता टाइगर श्रोफमाथि मुम्बईको जुहू क्षेत्रमा गोली प्रहार भएको छ। भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार मोटरसाइकलमा आएका तीन जनाले श्रोफ सवार गाडीमा पाँच राउन्ड गोली चलाएका थिए।

घटनामा टाइगर सुरक्षित रहेका छन् । तर उनका चालक तथा नजिकै रहेका एक अटो रिक्सा चालक घाइते भएको समाचारमा उल्लेख छ। घाइतेहरूलाई तत्काल अस्पताल लगिएको थियो।

प्रहरीका अनुसार घटनापछि आक्रमणकारीको खोजी भइरहेको छ। प्रहरीले घटनास्थल आसपासका सीसीटीभी फुटेज जाँच गर्नुका साथै प्रत्यक्षदर्शीहरूसँग सोधपुछ गरिरहेको छ। घटनास्थलबाट गोलीको खोका पनि बरामद गरिएको समाचारमा जनाइएको छ।

भारतीय सञ्चारमाध्यमका रिपोर्टअनुसार अनिल पण्डित र हरमन सन्धुले गोली प्रहारको जिम्मेवारी लिएको दाबी गरिएको छ।

अनिल पण्डितको नामबाट सामाजिक सञ्जालमा सार्वजनिक पोस्टमा टाइगर श्रोफलाई चेतावनी दिँदै बलिउडमा सलमान खानसँग काम गर्ने व्यक्तिलाई निशाना बनाउने धम्की दिइएको बताइएको छ।

यद्यपि, उक्त दाबीको स्वतन्त्र पुष्टि भएको छैन। गोली प्रहारको वास्तविक कारण पनि खुल्न सकेको छैन।

टाइगर श्रोफ बलिउड अभिनेता ज्याकी श्रोफका छोरा हुन्। उनले करिब एक दशकदेखि फिल्म क्षेत्रमा काम गर्दै आएका छन्। ‘हिरोपन्ती’, ‘बागी’, ‘वार’ र ‘बडे मियाँ छोटे मियाँ’ लगायत फिल्ममा उनले अभिनय गरेका छन्।

टाइगरले बाल्यकालमा परिवार आर्थिक संकटमा परेको अनुभवसमेत सार्वजनिक गरेका थिए। उनकी आमा आयशा श्रोफले निर्माण गरेको फिल्म ‘बुम’ असफल भएपछि परिवारले आर्थिक कठिनाइ सामना गर्नुपरेको उनले एक अन्तर्वार्तामा बताएका थिए।

सञ्चारमाध्यमका अनुसार टाइगर श्रोफको अनुमानित सम्पत्ति २४८ करोड भारतीय रुपैयाँ रहेको छ। उनका पिता ज्याकी श्रोफको सम्पत्ति २१२ करोड रुपैयाँ रहेको दाबी गरिएको छ।