उपत्यकामा निषेधाज्ञा ?

उपत्यकामा निषेधाज्ञा ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु  – कोरोना सङ्क्रमण दिन प्रतिदिन भयावह बन्दै गएपछि काठमाण्डु , ललितपुर र भक्तपुरका तीनवटै जिल्लामा पुनः बन्दाबन्दी वा निषेधाज्ञा जारी गर्ने विषयमा सम्बद्ध अधिकारी छलफलमा जुटेका छन् ।

कोरोना सङ्क्रमणबाट जोगिन नागरिक आफैँ सचेत र जागरुक नहुँदा उपत्यकामा जोखिम बढेको उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रवक्ता सहायक जिल्ला अधिकारी तुल्सीराम पौडेलले बन्दाबन्दी वा निषेधाज्ञाको विषयमा छलफल भइरहेको जानकारी दिनुुभयो ।

‘‘अहिलेकै अवस्थामा बन्दाबन्दी वा निषेधाज्ञा जारी गर्न जरुरी छैन,’’ उहाँले थप्नुभयो, ‘‘मङ्गलबारबाट समूहगत हिँड्डुल, सामाजिक तथा भौतिक दूरी कायम राख्ने कार्यमा कडाइ गरिनेछ । सरकारबाट जारी स्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड अनिवार्य गरिएको छ ।’’

सवारी सञ्चालनमा जोर–बिजोर, मास्क र सेनिटाइजरको सही प्रयोग, होटल तथा रेस्टुराँ, चियापसल, पार्टी प्यालेस, पसल, सुपरमार्केट, सार्वजनिक स्थानमा सर्वसाधारणको उपस्थिति तथा भीडभाडलाई यसअघि नै पूर्ण रूपमा निषेध गरिएको छ ।

तर उपत्यकावासी मास्कसमेत प्रयोग नगरी सडकमा निस्कने, बिहे, जन्म दिन, धार्मिक चाडपर्वका नाममा आफन्त साथीभाइ जम्मा पारी समूहगत भोज भतेर र पार्टी गर्न थालेपछि कोरोना सङ्क्रमणको समस्या थपिएको भनाइ स्थानीय सुरक्षा अधिकारीको छ ।

कोरोना महामारी रोकथाम तथा नियन्त्रण प्रतिकार्य योजना अनुसार लागू गरिएको स्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड सर्वसाधारणले पालना गरे नगरेको तीनवटै जिल्ला प्रशासन कार्यालयबाट नियमित अनुगमनसमेत हुने गरेको छ ।

अनुगमनबाट अधिकांश नागरिकले लापरबाही तथा हेलचेक्र्याइँ गरेको पाइएको छ । महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले सम्झाइबुझाई गर्दा पनि अटेर गर्नेका कारण कोरोना फैलिएको बताउनुभयो ।

जोखिमको बेला सडकमा सुरक्षाकर्मी खटाएर नियन्त्रण गर्छुभन्दा पनि सम्भव छैन, शान्तिसुरक्षा तथा कोरोना रोकथाम प्रतिकार्य सुरक्षामा खटिएका सुरक्षाकर्मी नै सङ्क्रमित बन्दै गएको बेला आमनागरिकले आफ्नो सुरक्षाका लागि घरमै बन्दाबन्दी बस्नुबाहेक अन्य विकल्प नभएको उहाँ बताउनुहुन्छ ।

उपत्यकामा प्रतिदिन झण्डै १५० जनाको हाराहारीमा कोरोना सङ्क्रमितको सङ्ख्या थपिँदै गएकाले बन्दाबन्दी वा निषेधाज्ञा जारी गर्नुपर्ने सुझाव सुरक्षा निकायको छ । काठमाडौँ उपत्यकाको नाका तथा टोल ‘सिल’ गरेर मात्र नियन्त्रण सम्भव छैन उहाँले भन्नुभयो, केही दिन आन्तरिक सुरक्षामा कडाइ गर्नुपर्ने हुन्छ ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।