काठमाण्डु – काठमाण्डु उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आज बिहीबारबाट १० भदौसम्म निषेधाज्ञा जारी गरिएको छ ।
निषेधाज्ञा जारी भएसँगै १० गतेसम्म बिनाकाम कुनै पनि नागरिक घरबाट बाहिर निस्कन पाइनेछैन भने अत्यावश्यक बाहेकका सबै क्षेत्र बन्द हुनेछन् । सोही अवधिसम्म उपत्यका बाहिरका विभिन्न जिल्लाबाट काठमाडौं उपत्यकामा भित्रनसमेत निषेध गरिएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीसहित तीनै जिल्लाका सुरक्षा निकायका प्रमुखसहितको मंगलबारको संयुक्त बैठकले संक्रमितको संख्या बढ्दै गएपछि १० भदौसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।
तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि संक्रामक रोग ऐन, २०२० को दफा २ एवं स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम निषेधाज्ञाको निर्णय गरेका हुन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले निषेधाज्ञाभर बिनाकाम कोही पनि घरबाट निस्कन नपाइने र निस्किएको पाइए कानुनअनुसार कारबाही अघि बढाइने बताए ।
‘निषेधाज्ञाभर बिनाकाम कोही पनि घरबाट निस्कन पाउँदैनन्, बिनाकाम निस्किएको पाइए कानुनअनुसार कारबाही हुन्छ,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी दाहालले राजधानीसँग भने ।
दाहालका अनुसार आदेशको उल्लंघन गरेमा स्थानीय प्रशसन ऐनअनुसार ५ सय रुपैयाँसम्म जरिमाना र १ महिनासम्म कैद सजाय हुनेछ । यस्तै, संक्रामक रोग ऐन अनुसार १ सय जरिमाना र १ महिना कैद हुन सक्नेछ ।
निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवाबाहेक अरू सेवाहरू बन्द हुनेछन् । अत्यावश्यक सेवाअन्तर्गत स्वास्थ्य, सुरक्षा, सञ्चार, खाद्यान्न, पेट्रोलियम पदार्थ, फोहोर बोक्ने सवारी र औषधिजन्य सेवा बाहेक अरू सञ्चालन गर्न पाइनेछैन । यस्तै तोकिएकाबाहेकका व्यपार व्यवसाय बन्द हुनेछन् ।
यसैगरी, अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन पाउनेछैनन् । यस्तै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अत्यावश्यक सामान ढुवानी गर्ने सवारीसाधन बाहेक अन्य सवारी साधन काठमाडौं उपत्यका प्रवेश गर्न पाउनेछैनन् । ती सवारी साधनलाई भने उपत्यका भित्र चल्न समेत बन्देज छैन ।
तर सबै प्रकारका यात्रुवाहक सवारी साधन बन्द हुनेछन् भने कुनै पनि मेला, महोत्सव, जात्रा पर्व सञ्चालन गर्न, मानिसहरू भेला तथा जम्मा हुन, भीडभाड हुन र सभाजुलुस गर्न पाइनेछैन ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।




प्रतिक्रिया