लाइभ प्रार्थनामै पादरीमाथि खस्यो विशाल क्रस, घटनास्थलमै गयो ज्यान

लाइभ प्रार्थनामै पादरीमाथि खस्यो विशाल क्रस, घटनास्थलमै गयो ज्यान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– दक्षिण अमेरिकी देश इक्वेडरको ग्वायाकिल सहरस्थित एक चर्चमा प्रार्थना सभाको प्रत्यक्ष प्रसारण भइरहेका बेला विशाल काठको क्रस खस्दा एक क्याथोलिक पादरीको मृत्यु भएको छ।

मृत्यु हुनेमा पर्पेचुओ सोकोरो चर्चका पादरी प्याट्रिसियो अल्फ्रेडो सान्चेज मोलिनारी रहेका छन्।

एसोसिएटेड प्रेस (एपी) का अनुसार शनिबार साँझ प्रार्थना सभा सञ्चालन भइरहेका बेला वेदीमाथि भित्तामा राखिएको ठूलो क्रुस अचानक खसेर पादरी सान्चेजको टाउकोमा लागेको थियो। गम्भीर चोट लागेका उनको घटनास्थलमै मृत्यु भएको हो।

घटनाको दृश्य चर्चमा भइरहेको प्रत्यक्ष प्रसारणमा कैद भएको छ। भिडियोमा पादरीले प्रार्थना गरिरहेका बेला उनको पछाडि रहेको विशाल क्रुस भित्ताबाट छुट्टिएर खसेको देखिन्छ। क्रुस खस्दा पादरीले त्यसलाई देख्न सकेको देखिँदैन।

घटनापछि चर्चमा उपस्थित भक्तजनहरूले सहयोगका लागि चिच्याएका थिए। तर, सामाजिक सञ्जालमा भइरहेको प्रत्यक्ष प्रसारण भने जारी रहेको थियो।

ग्वायाकिलको आर्चडायोसिसले मृतक पादरी सान्चेजको पहिचान पुष्टि गरेको छ।

उनी सन् १७३२ मा स्थापना भएको रोमन क्याथोलिक धार्मिक संस्था ‘कंग्रिगेसन अफ द मोस्ट होली रिडिमर’सँग आबद्ध थिए। उक्त संस्थाको उपस्थिति विश्वका ८० देशमा रहेको एपीले जनाएको छ।

घटनाबारे स्थानीय अधिकारीहरूले भने तत्काल कुनै प्रतिक्रिया दिएका छैनन्। प्रार्थना सभाको प्रत्यक्ष प्रसारणका क्रममा भएको यो घटनाको भिडियो सामाजिक सञ्जालमा फैलिएको छ।