युक्रेन युद्ध अन्त्य गर्न पुटिनको नयाँ प्रस्ताव, ट्रम्प र सीसँग त्रिपक्षीय वार्ता

युक्रेन युद्ध अन्त्य गर्न पुटिनको नयाँ प्रस्ताव, ट्रम्प र सीसँग त्रिपक्षीय वार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग त्रिपक्षीय शिखर वार्ता गर्ने प्रस्ताव अघि सारेका छन् ।

द वाल स्ट्रिट जर्नलका अनुसार पुटिनले अक्टोबर ९ मा ट्रम्पसँग भएको टेलिफोन वार्ताका क्रममा यस्तो प्रस्ताव गरेका हुन् । प्रस्तावअनुसार आगामी महिना चीनमा हुने एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको अवसरमा तीन नेताबीच भेटवार्ता गराउने विषयमा छलफल भइरहेको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पुटिन र ट्रम्पबीच सम्भावित भेटवार्ताबारे छलफल भइरहेको पुष्टि गरे पनि यसको मिति र कार्यसूचीमा अहिलेसम्म सहमति नभएको बताएका छन् । अमेरिकी अधिकारीहरूले पनि ट्रम्पले प्रस्तावमा औपचारिक सहमति जनाइसकेको पुष्टि गरेका छैनन् ।

रुसी पक्षले नोभेम्बर १८ र १९ मा चीनको सेन्जेनमा हुने एपेक शिखर सम्मेलनलाई सम्भावित भेटवार्ताको अवसरका रूपमा अघि सारेको जनाइएको छ । रुसी कूटनीतिज्ञहरूले चिनियाँ अधिकारीहरूसँग प्रस्तावबारे छलफल गरिसकेको र ट्रम्प सहभागी भए चीनले आपत्ति नजनाउने सङ्केत प्राप्त भएको स्रोतहरूले बताएका छन् ।

प्रस्तावित वार्तामा युक्रेन वा अमेरिकाका युरोपेली सहयोगीहरूको प्रत्यक्ष प्रतिनिधित्व नहुने सम्भावनाले भने नयाँ प्रश्न उठाएको छ । युक्रेन युद्धको भविष्यबारे हुने उच्चस्तरीय छलफलमा युद्धको प्रत्यक्ष पक्ष रहेको युक्रेनलाई सहभागी नगराउने विषयले कूटनीतिक रूपमा विशेष चासो बढाएको छ ।

यसैबीच, ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्यका लागि भइरहेको प्रयासमा ‘ठूलो प्रगति’ भइरहेको दाबी गरेका छन् । उनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसअघि राम्रो सम्झौता गर्न असफल भएको आरोप लगाउँदै रुसलाई वार्ताको टेबलबाट बाहिर राख्न नहुने बताएका छन् ।

ट्रम्प र पुटिनबीच यसै महिनाको सुरुवातमा करिब डेढ घण्टा टेलिफोन वार्ता भएको थियो । वार्तामा आर्थिक सहकार्य, ऊर्जा आपूर्ति तथा अन्तर्राष्ट्रिय विषयमा छलफल भएको रुसी राष्ट्रपतिका सहयोगी युरी उशाकोभले बताएका थिए । त्यस क्रममा दुवै नेताबीच प्रत्यक्ष भेटवार्ताको सम्भावनाबारे समेत छलफल भएको थियो ।

ट्रम्पले वार्तापछि रुसले अमेरिकी तथा विश्व बजारमा तत्काल तीन लाख टनभन्दा बढी डिजेल इन्धन आपूर्ति गर्ने र आगामी महिनामा थप आपूर्ति हुने बताएका थिए ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ र ट्रम्पबीच पनि यसअघि अमेरिकामा भएको भेटवार्तामा आपसी सम्मानका आधारमा विभिन्न विषयमा छलफल भएको चिनियाँ पक्षले जनाएको छ । यही पृष्ठभूमिमा पुटिनले ट्रम्प र सीलाई एउटै वार्ताको टेबलमा ल्याउने प्रस्ताव अघि सारेका हुन् ।