काठमाण्डु – प्रहरीले कर्मचारीलाई बैंक जान नदिएको भन्दै नेपाल बैंकर्स एशोसिएसनले आज बैंक नखोल्ने निर्णय गरेको । कार्यालय हिँडेका कर्मचारीलाई बाटोबाटै प्रहरीले फर्काएपछि एशोसिएसनले यस्तो निर्णय गरेको हो ।
नेपाल बैंकर्स एशोसिएसनका अध्यक्ष भुवन कुमार दाहालले प्रहरीले सरकारको निर्णयविरुद्ध कर्मचारीलाई दुःख दिएको भन्दै बैंक नखुल्ने जानकारी दिए ।
उनले केही कर्मचारीलाई प्रहरीले पक्राउ गरेको जानकारी दिए । अध्यक्ष दाहालकाअनुसार पक्राउ परेका कर्मचारीलाई प्रहरीले छोडिसकेको छ ।
त्यस्तै अध्यक्ष दाहालले मुख्य कार्यालय बन्द हुँदा देशभरको कारोबार बन्द भएको पनि जानकारी दिए ।
अध्यक्ष दाहालकाअनुसार काठमाण्डु, ललितपुर र भक्तपुरका तीन जना सिडिओहरुसँग काठमाण्डु उपत्यकामा हरेक बैंकका ८ वटा शाखा खोल्ने सहमति भएको थियो ।
त्यस्तै बैंकको परिचयपत्र देखाएर कार्मचारीले आउजाउ गर्न सक्नेगरी सहमति भएको थियो । आवश्यक स्वास्थ्य मापदण्ड लागू गरेर बैंक खोल्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।
यता भक्तपुरकी सिडिअो हुमकला पाण्डेले बैंकका कर्मचाारीलाई प्रहरीले रोकेको विषय आफूलाई जानकारीमा नआएको बताइन् । उनले राष्ट्र बैंकले सहजीकरण गरेर निर्णय गर्नुपर्ने विषय भएकाले प्रहरीले आधिकारिक परिचयपत्र देखाउने कर्मचारीलाई रोक्न नमिल्ने जानकारी दिइन् ।




प्रतिक्रिया