कार्यदलको प्रतिवेदनबारे अ‍ोली र प्रचण्डबीच छलफल हुँदै

कार्यदलको प्रतिवेदनबारे अ‍ोली र प्रचण्डबीच छलफल हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार भेटवार्ता हुने भएको छ । नेकपाभित्रको विवाद समाधानका लागि गठन गरिएको ६ सदस्यीय कार्यदलले शनिबार बुझाएको प्रतिवेदनबारे सोमबार बिहान दुवै अध्यक्षबीच छलफल हुन लागेको हो ।

दुवै अध्यक्षले कार्यदलको सुझावअनुसार छलफल प्रक्रियालाई अगाडि बढाउने भएका हुन् । कार्यदलको प्रतिवेदन दुवै अध्यक्षले अध्ययन गरेपछि छलफलका माध्यमबाट नेकपाभित्रको विवाद टुंगो लाग्नेछ ।

कार्यदलले स्थायी कमिटी बैठकलाई नियमित प्रक्रियाबाट सञ्चालन गर्न, प्रधानमन्त्री अ‍ोलीले सरकार र अध्यक्ष प्रचण्डले पार्टी सञ्चालन गर्ने, मुख्यमन्त्री हेरफेर गर्ने, चैतमा महाधिवेशन गर्ने, सैद्धान्तिक विषयहरु महाधिवेशनबाट टुंगो लगाउनेलगायतका विषयमा सुझावसहितको प्रतिवेदन बुझाएको हो ।

अब प्रधानमन्त्रीको राजीनामाको विषय स्थायी कमिटी बैठकको एजेण्डा नबनाउने पनि बताइएको छ । असार १० गतेदेखि सुरु भएको नेकपाको स्थायी कमिटी बैठक असार १८ गतेबाट स्थगित छ । प्रधानमन्त्रीले सरकार र पार्टीबाट राजीनामा दिनुपर्ने आवाज उठेपछि ओलीले बैठक स्थगित गराउँदै आएका छन् ।

महासचिव विष्णु पौडेलको संयोजकत्वमा स्थायी कमिटी सदस्यहरु शंकर पोखरेल, भीम रावल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे र पम्फा भुसाल सदस्य थिए ।