काठमाण्डु – टिकटकका कारण नेपालमा अन्तर्राष्ट्रिय ब्यान्डविथ प्रयोग बढेसँगै नेपाल दूरसञ्चार प्राधिकरणले अध्ययन अघि बढाएको छ । क्यास सर्भरको प्रयोग नहुँदा टिकटकका लागि खपत हुने अन्तर्राष्ट्रिय ब्यान्डविथ बढेको हो ।
ब्यान्डविथको खपत एक्कासि बढेपछि इन्टरनेट सेवा प्रदायकहरूले समस्या समाधानका लागि पहल गरिदिन अनुरोध गरेपछि प्राधिकरणले अध्ययन अघि बढाएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए ।
पछिल्लो समय टिकटकले मात्रै नेपाल भित्रिने अन्तर्राष्ट्रिय ब्यान्डविथको २५ प्रतिशत खपत गर्न थालेको छ । त्यसैले सेवा प्रदायकले अनौपचारिक रूपमा पिक आवरमा यसको ब्यान्डविथ सीमित पार्न थालेका छन् । यसले साँझ केही घण्टा टिकटक भिडियोको गुणस्तर कम हुनेछ ।
सेवा प्रदायकहरूले प्राधिकरणसमक्ष टिकटकको भिडियो रिजोलुसन सीमित पार्ने, क्यास सर्भर राख्न पहल गर्ने र नभए मूल्य बढाउनुपर्ने माग गरेको प्राधिकरण स्रोतले जनाएको छ । तर इन्टरनेट सेवा प्रदायकहरूको संस्था नेपाल (आइस्पान) अध्यक्ष भोजराज भट्ट भने मूल्य बढाउने विषयमा कुनै छलफल नभएको बताउँछन् । आइस्पानसँग विभिन्न विकल्पमा छलफल भएको प्राधिकरणका अध्यक्ष खनालको भनाइ छ । ‘
केही सातायता टिकटक प्रयोगका लागि मात्रै नेपालमा १ सय ७५ जीबीपीएस ब्यान्डविथ खपत हुन थालेको सेवा प्रदायकले बताएका छन् । यो नेपाल भित्रिने अन्तर्राष्ट्रिय ब्यान्डविथको २५ प्रतिशत हो । लकडाउनपछि नेपालमा ७ सय जीबीपीएस ब्यान्डविथ भित्रिइरहेको छ । जेठ १ सम्म टिकटकले १३ जीबीपीएस मात्रै अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत गर्ने सेवा प्रदायकहरूको तथ्यांक छ ।
त्यसअघि ५ सय जीबीपीएस ब्यान्डविथ भित्रिने गरेकोमा लकडाउनको समयमा इन्टरनेट ब्यान्डविथको माग अत्यधिक भएपछि सेवा प्रदायकहरूले बढी ब्यान्डविथ भित्र्याउन थालेका हुन् । टिकटकले २८ जुलाईदेखि आफ्नो प्रोटोकल एटीटीपीबाट एचटीटीपीएस बनाएपछि सेवा प्रदायक थप समस्यामा परेको आइस्पान अध्यक्ष भट्टको भनाइ छ ।
एचटीटीपीएस प्रोटोकल कम्प्युटर नेटवर्कमा हुने सञ्चारलाई सुरक्षित पार्न प्रयोग गरिन्छ । भारतले आफ्नो देशमा प्रतिबन्ध लगाएको र अमेरिकाले पनि टिकटकलाई आफ्नो देशमा हुने व्यापारको हिस्सा आफ्नै देशको कम्पनीलाई बिक्री गर्न म्याद दिएपछि मानिसमा यसप्रति चासो बढेको उनको विश्लेषण छ ।यो समाचार आजको कान्तिपुर दैनिकमा विजय तिमल्सिनाले लेखेका छन् ।




प्रतिक्रिया