प्राथमिकताका आधारमा विदेशबाट नेपालीको उद्धार गरः डिला संग्रौला

प्राथमिकताका आधारमा विदेशबाट नेपालीको उद्धार गरः डिला संग्रौला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रोला पन्तले टिकट काटेर पनि नेपालीलाई विदेशमा अलपत्र परेकोमा आपत्ति जनाएकी छिन् ।

सोमबार एक विज्ञप्ति जारी गर्दै छाया श्रममन्त्रीसमेत रहेकी सांसद संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओली र श्रममन्त्री रामेश्वर राय यादवलाई युएईमा टिकट काटेका यात्रु छाडेर रित्तै विमान नेपाल फर्काउने गैरजिम्मेवार काम गर्ने अधिकारीलाई बर्खास्त गर्न ध्यानआकर्षण गराएकी छन् ।

सांसद संग्रौलाले विदेशमा पाँच लाख नेपाली स्वेदश फर्किन चाहेको भए पनि अहिलेसम्म सरकारले ५० हजार मात्र स्वदेश ल्याएको भन्दै प्राथमिकताका आधारमा उद्धार गर्न माग गरेकी छन् ।

‘चार्टर्ड विमानको महँगो टिकट काटेर घर फर्कन पर्खि रहेका नेपालीहरुलाई युएईमा छाडेर रित्तै विमान नेपाल फर्काउने जस्तो गैरजिम्मेवार काम गरेको छ । त्यस्तो कामका लागि जिम्मेवार अधिकारीहरुलाई तत्काल बर्खास्त गर्नुपर्छ’, उनले विज्ञप्तिमा भनेकी छन् ।

उनले विदेशमा रहेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फिर्ता गर्न पनि माग गरेकी छन् । ‘कोरोना महामारीका कारण काम गुमाएर लामो समयदेखि खानाका लागि पनि अरुको राहतको आशामा बसेका श्रमिकहरुको पहिचान गरि तत्काल निशुल्क उद्धार गरियोस्’, उनले भनेकी छन्, ‘श्रम स्वीकृति लिएर गएका तर आफ्नो करार अवधि नपुगी कम्पनीले फर्किन वाध्य पारेका र कम्पनीले टिकट नदिएका श्रमिकहरुलाई सर्वोच्चको आदेश अनुसार श्रम कल्याणकारी कोषबाट उद्धार गरियोस् ।’

विदेशमा रहेका श्रमिकहरुलाई स्वदेश फिर्ता ल्याउने लगायतका काम तत्काल सम्पन्न गर्न नेपाल सरकारसँग निम्नअनुसार आग्रह गर्दछु ।

सांसद संग्रौलाले विदेशमा समस्यामा परि फर्किनै पर्ने अवस्थाका हजारौं श्रमिकहरुलाई निःशुल्क अथवा कम शुल्कको उडानको ब्यवस्था गर्न सरकारसँग माग गरेकी छन् । ‘श्रमिकहरुले नै तिर्ने गरी ७ दिनको लागि होटल बुकिङ गर्नैपर्ने सरकारको नयाँ निर्णय फिर्ता लिएर होटलमा पैसा तिर्न नसक्ने श्रमिकहरुलाई निःशुल्क क्वारेन्टानको ब्यवस्था गरियोस्’, उनले भनिन् ।

सांसद संग्रौलाले विदेशको विकासका लागि अनुभव बटुलेका श्रमिकहरुको सीपलाई प्रयोग गरी देश विकासमा उनीहरुको सहभागितासहितको रोजगारी र स्वरोजगार ब्यापार र ब्यवसाय गर्नेहरुलाई सरकारले कम ब्याजदरमा सुलभ ऋण र अनुदानको ब्यवस्था गर्न पनि सरकारसँग माग गरेकी छन् ।

त्यस्तै विदेशमा मृत्यु भएका नेपालीको शव स्वदेश ल्याउन सरकारसाग उनको माग छ । परिवारले ‘कि सास देउ, कि लास देउ’ भनेर पर्खि रहेको भन्दै उनले उनीहरुको शव यथाशिघ्र नेपाल ल्याएर सम्बन्धित परिवारलाई जिम्मा लगाउन सरकारसँग माग गरेकी छन् ।

त्यस्तै कोरोना भाइरसको महामारी र लकडाउनले रोजगारी गुमाएका नेपाली महिलाहरुको चुलोमा आगो नबलेको भन्दै उनले राहतका प्याकेज ल्याउन पनि सरकारसँग माग गरेकी छन् ।