पोखरा – पोखरामा रक्तदान गर्न इच्छुकको घरमै पुगेर रगत सङ्कलन गर्ने एम्बुलेन्स सञ्चालनमा आएको छ । कुनै विशेष कार्यक्रम आयोजना गरेर रक्तदान गर्ने परिपाटी अन्त्य गर्दै नेपाल रेडक्रस सोसाइटी कास्कीले जुनसुकै बेला रक्तदान गर्ने इच्छुकका लागि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो ।
कोही रक्तदान गर्न इच्छुक भए रेडक्रसमा फोन गर्नासाथ एम्बुलेन्समा रक्तदानका लागि आवश्यक सामग्री तथा स्वास्थ्यकर्मीको टोली घरमै पुग्ने व्यवस्था गरिएको नेपाल रेडक्रस सोसाइटी कास्कीले जनाएको छ । गत चैत ६ गतेदेखि सञ्चालनमा आएको एम्बुलेन्सले हरेक महिनामा ७५० देखि आठ सय युनिटसम्म रगत सङ्कलन गर्ने गरेको रेडक्रस कास्कीका मन्त्री धर्मराज अधिकारीले जानकारी दिनुभयो ।
रगत सङ्कलन गर्न सहरी क्षेत्र मात्रै नभएर ग्रामीण क्षेत्र र अन्य जिल्लामा समेत पुगेको उहाँले बताउनुभयो । उक्त एम्बुलेन्समा एकै पटकमा चार जनाले रक्तदान गर्न मिल्ने व्यवस्था मिलाइएको रेडक्रस सोसाइटी कास्कीका सदस्य सन्तोष अधिकारीले बताउनुभयो ।
कोरोना भाइरस विरुद्धको बन्दाबन्दी र निषेधाज्ञाको अवस्थामा रक्तदान कार्यक्रम आयोजना हुन नसक्दा रक्तसञ्चार केन्द्रमा आगामी दुई÷तीन दिनलाई पुग्नेबाहेक रगत नरहेको र केही दिनमा रगत अभाव हुने देखिएकाले दुई वा दुईभन्दा बढी व्यक्तिले रक्तदान गर्न चाहेमा सम्बन्धित व्यक्ति रहेकै ठाउँमा रक्त सङ्कलन एम्बुलेन्स पुग्ने गरेको मन्त्री अधिकारीले बताउनुभयो ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।




प्रतिक्रिया