काठमाण्डु – उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले आफ्ना नातेदारहरुलाई पदको दुरुपयोग गरेर नियुक्ती नदिएको प्रष्ट पारेका छन् । मन्त्री पोखरेलले राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा उपेन्द्रकुमार कोइरालालाई नियुक्त गरेको विषयमा आफ्नो कुनै हात नरहेको बताएका हुन् । कोइराला मन्त्री पोखरेलका सम्धी हुन् ।
‘मेरा कुनै नाता सम्बन्धमा रहेका व्यक्तिहरूद्वारा पद वा मसितको सम्बन्धको दुरूपयोग गरी विद्यमान क़ानूनी व्यवस्थालाई उल्लंघन गरेर लाभ लिएको वा पद प्राप्त गरेको भन्ने विषयमा कुनै सत्यता छैन’, उनले भनेका छन्, ‘भएका काम विधिसम्मत, पारदर्शितासहित र संस्थागत निर्णय प्रक्रियाका आधारमा मात्रै भएका छन् । कहींकतै पनि मेरो अबाञ्छित चासो वा हस्तक्षेप नभएको कुरा जानकारी गराउँदछु ।’
त्यस्तै उनले उक्त विषयमा प्रमाणित भएमा सार्वजनिक रुपमा सजाय भोग्न तयार रहेको बताएका छन् ।
‘प्रमाणित भएमा सार्वजनिक रूपमा सजायको भागिदार हुने समेत विश्वास दिलाउन चाहन्छु । मेरो यो दृढता र विश्वासलाई लाञ्छित गर्ने हिसाबले तथ्यहीन र अत्यन्त गलत मनसायका साथ सार्वजनिक भएका/गरिएका कुराहरूप्रति खेद व्यक्त गर्दछु’, उनले भनेका छन् ।
त्यस्तै उनले आफ्ना समर्थकहरुलाई भ्रममा नपर्न पनि आग्रह गरेका छन् । मन्त्री पोखरेलले निरंकुश शाही शासनका दुष्ट मतियारहरूले नयाँ ढंगले आफूबिरूद्धमा स्वर उरालिरहेको बताएका छन् ।
‘विगतमा राजाले सम्पूर्ण शासन सत्ता आफ्नो हातमा लिएको र त्यसविरूद्ध संघर्ष गरेका कारण यातनापूर्ण बन्दी जीवन विताइरहेका बेला सम्पूर्ण रूपमा बदनाम र चरित्रहत्या गर्ने हिसावले ‘घरको पानी ट्यांकीमा पैसा राखेको’ कुप्रचार गरिएको थियो’ अहिले विगतको निरंकुश शाही शासनका तिनै दुष्ट मतियारहरू समेत नयाँ ढंगले मेरो बिरूद्धमा स्वर उरालिरहेका छन् ।’
त्यस्तै उनले उक्त आरोप पुष्टि गर्न पनि चेतावनी दिएका छन् । मन्त्री पोखरेलले जनताको विश्वासलाई टुट्न नदिने पनि विज्ञप्तिमार्फत स्पष्ट पारेका छन् ।
‘म ती सबैलाई चुनौती दिदै घृणापूर्वक अस्वीकार गर्दछु । तपाईंहरूको विश्वास र भरोसालाई म कहिल्यै/कहिल्यै कमजोर हुन दिने छैन किमार्थ टुट्न दिने छैन’, उनले भनेका छन् ।




प्रतिक्रिया