कोरोना संक्रमित १४ दिन मात्रै अस्पतालको आइसोलेनमा बस्न पाउने

कोरोना संक्रमित १४ दिन मात्रै अस्पतालको आइसोलेनमा बस्न पाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोरोना भाइरसका बिरामी १४ दिनसम्म मात्र अस्पतालको आइसोलेनमा बस्न पाउने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको व्यवस्थापन गर्न सातै प्रदेशका सामाजिक विकास मन्त्रालयमा यस्तो परिपत्र गरेको हो।

कोरोनाको लक्षण तथा चिह्नहरू नभएका (एसिम्टोमेटिक ) र सामान्य लक्षण एवं चिह्नहरू भएका (माइल्ड) केसका बिरामीको १० दिनमा पीसीआर गरी डिस्चार्ज गर्न भनिएको छ। १० दिनमा पोजिटिभ आए १४ दिनमा परीक्षण नगरी डिस्चार्ज गर्ने व्यवस्था मिलाउन परिपत्र गरिएको हो।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मुलुकभरका सम्पूर्ण कोभिड–१९ अस्पताललाई परिपत्र गरिएको छ। ‘१० दिनमा परीक्षण गर्दा पोजिटिभ आयो भने अरू ४ दिन राख्ने हो’, प्रवक्ता डा. गौतमले भने।

कोरोना संक्रमण एक दिनमै सयौंको संख्यामा वृद्धि हुन थालेपछि अस्पतालका बेड भरिभराउ छन्। १४ हजार ७ सय ३९ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा ८ सय ८५ जना संक्रमित थपिएका छन्। पीसीआर परीक्षण गरेकामध्ये संक्रमणदर ५.४ प्रतिशत छ। हालसम्म ३४ हजार ४ सय १८ जनामा कोरोना पोजिटिभ देखिएको छ। जसमध्ये १९ हजार ५ सय ४ जना निको भएका छन्। निको हुने दर ५६.७ प्रतिशत छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागरकुमार राजभण्डारीले दिनहुँ संक्रमितको संख्या वृद्धि भइरहेकाले मन्त्रालयको परिपत्र स्वाभाविक भएको बताए।

अस्पतालको आइसोलेसनमा बसिरहेका संक्रमितले पीसीआर परीक्षण गर्न दबाब दिन थालेपछि मन्त्रालयले दोस्रो पटक परिपत्र गरेको छ। सिकिस्त बिरामीले अस्पतालमा बेड पाउन नसक्ने अवस्था उत्पन्न भएको चिकित्सकले जनाएका छन्।यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।