काठमाण्डु – सरकारले आगामी १६ भदौबाट हुने भनिएको नियमित तथा चार्टर उडानको तालिका बनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तालिका बनाएर स्वीकृत गरी कार्यान्वयनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमा पठाएको छ ।
पछिल्लो समय काठमाडौं उपत्यकालगायत मुलुकभर कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै सञ्चालन गर्न लागेको हवाई उडानका लागि थुप्रै सर्त राखिएका छन् । मन्त्रालयले विभिन्न ८ देशमाथि गत चैतदेखि लगाएको हवाई उडान प्रतिबन्ध खुला गराउँदै अन्तर्राष्ट्रिय नियमित व्यावसायिक उडान तालिका तय गरेको हो ।
पर्यटन मन्त्रालयले तय गरेको तालिकाअनुसार अब मलेसिया, टर्की, दक्षिण कोरिया, जापान, चीन, हङकङ, युएई र कतारलाई अन्तर्राष्ट्रिय नियमित व्यावसायिक हवाई उडानले पुनः नेपालसँग जोडिदिनेछ ।
यसैगरी, सरकारले आगामी १६ भदौ पछि पनि स्वदेशी वायुसेवा कम्पनीबाटै विभिन्न देशमा चार्टर उद्धार उडान नै जारी राख्ने भएको छ । सरकारले अझै कोरोनाको उच्च जोखिम कायमै रहेका मुलुकबाट पिसिआर रिपोर्टसहित आउन नसक्नेलाई मध्यनजर गरी केही मुलुकमा चार्टर उद्धार उडानलाई नै निरन्तरता दिने निणर्य गरेको हो । सरकारले पहिलो चरणमा पिसिआर परीक्षण सम्भव हुने मुलुकमा मात्र नियमित व्यावसायिक उडानको अनुमति दिएको छ ।
पर्यटन मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणलाई बुझाएको नयाँ उडान तालिकाअनुसार अब नेपाल आउने हवाई यात्रु र नेपालसम्म ल्याउने वायुसेवा कम्पनीले विभिन्न सर्तको पूर्ण पालना गर्नुपर्नेछ ।यो समाचार आजको राजधानी दैनिकमा छ ।
- पिसिआर रिपोर्ट नेगेटिभ अनिवार्य
- सबै यात्रुको पिसिआर नेगेटिभ भए सोझै घर जान पाइने
- अनलाइन फाराम अनिवार्य
- फाराम भएका र नभएका यात्रु मिसाउन नपाइने
- कोरोना परीक्षण नगरेका यात्रु ल्याए कारबाही
- विदेशी यात्रुको हकमा परिचयपत्र अनिवार्य
- भिसाको जिम्मा अध्यागमनलाई
- नियुक्तिपत्रवाहकलाई छुट
- स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य




प्रतिक्रिया