गुल्मीका पत्रकारलाई प्रधानमन्त्रीको फोनः हामी बेरोजगार हुँदै हुँदैनौं !

गुल्मीका पत्रकारलाई प्रधानमन्त्रीको फोनः हामी बेरोजगार हुँदै हुँदैनौं !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले कृषि रिपोर्टिङ गरेर कृषकलाई प्रोत्साहन गर्ने गुल्मीका पत्रकारलाई फोन गरेर बधाई दिएका छन् ।

प्रधानमन्त्री अ‍ोलीले कृषकलाई प्रोत्साहन गर्ने काम गरेको भन्दै गुल्मीका पत्रकार मोहन बस्नेतलाई बधाई दिएका हुन् । उनले कृषकलाई आधृनिक कृषि खेतीमा प्रोत्साहित गरिराख्नुपर्ने बताएका छन् ।

‘म देशविकासको कुराहरुमा अलिक रुची राख्छु । म आफैं पनि यस्तो कुराहरुमा लागिरहेको छु । कृषिलाई प्रोत्साहित गरिरहेको छु’, प्रधानमन्त्री ओलीले टेलिफोनमा भनेका छन् ।’

त्यस्तै प्रधानमन्त्री अ‍ोलीले बेरोजगार भएर विदेश जानु उचित नभएको बताएका छन् । उनले अष्ट्रेलियाबाट फर्किएर नेपालमा उदाहरणीय व्यावसायीक कृषि खेतीमा लागेको उदाहरण दिँदै यस्ता काममा प्रोत्साहित गर्न स्वंय पनि लागिरहेको बताएका छन् ।

उनले भनेका छन्, ‘हामी बेरोजगार भयौं भनेर विदेश जाने कुरा नै वास्तविकता होइन । हामी बेरोजगार हुँदै हुँदैनौं ।’

त्यस्तै प्रधानमन्त्रीले देशलाई १० वर्षभित्र समृद्ध बनाउन सकिने बताएका छन् । पत्रकार बस्नेतले अपरिचित नम्बरबाट फोन आएकाले सुरुमा उहाँलाई चिन्न नसकेको बताए । उनले प्रधानमन्त्रीले फोन गर्दा आफू एकदमै अचम्मित र खुसी भएको बताए ।

‘हप्ता दिन अगाडि फोन गर्नुभएको थियो । म आफ्नै काम गरिरहेको थिएँ । उहाँको स्वर चिन्न सकिन’ पत्रकार बस्नेतले भने, ‘प्रधानमन्त्री बोलेको भनेपछि त आत्तिएँ । के बोलौं के भन्ने भयो ।’

पत्रकार बस्नेतले नेपाली सेनाको जागिर छोडेर ९३ लाखका ९ वटा घडेरी बेचेर गुल्मीका दिलिप भण्डारीले बहुमूल्य बनस्पति लगाएको रिपोर्ट प्रकाशित गरेका थिए । प्रधानमन्त्रीले उक्त रिपोर्ट हेरेपछि चासो व्यक्त गरेका हुन् । पत्रकार बस्नेतलाई प्रधानमन्त्रीले एक हप्ता अगाडि फोन गरेपनि उक्त अडियो क्लिप आज सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।