काठमाण्डु – जनकपुरदेखि जयनगरसम्म सञ्चालनका लागि भारतसँग खरिद गरिएको दुईवटा रेल यही भदौभित्र नेपाल आउँदैछ । नेपाल र भारतबीच जीटूजी प्रक्रियाबाट रेल खरिद गरिएको हो ।
नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले भदौभित्र रेल नेपाल आइपुग्ने जानकारी दिनुभयो । “कोरोना महामारीको सङ्क्रमण सामान्य नभएसम्म रेल सञ्चालनमा भने आउने छैनन् तर भदौभित्रै रेल नेपाल आइपुुग्ने छ,” उहाँले भन्नुभयो ।
अहिले भारतको विहारस्थित हाजिपुर स्टेसनमा राखिएको रेल कोरोना भाइरस सङ्क्रमणका कारण उत्पन्न अवरोधले नेपाल आउन केही ढिलाइ भएको हो ।
यसैबीच भारतीय प्राविधिक र आर्थिक सहयोगमा निर्माण भएको जनकपुर–जयनगर रेल्वे लिक भारतले नेपाललाई हस्तान्तरण गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार सके भदौभित्र नत्र असोजभित्र भारतले नेपाललाई सो ट्र्याक हस्तान्तरण गर्नेछ ।
‘‘रेल्वे लिक हस्तान्तरण गर्न अहिले दुवै मुलुकमा गृहकार्य भइरहेको छ’’ उहाँले भन्नुभयो, “उक्त रेल सेवा कसरी सञ्चालन गर्ने, सञ्चालन भएको कति अवधिसम्म त्यसको मर्मतसम्भार भारतले गर्ने लगायतका सर्त र सेवाको खाका दुवै मुलुकले तयार गरिरहेका छन् ।”
लिक हस्तान्तरण गर्न लिकमा देखिएका समस्या र चोरी भएका ‘रेल्वे क्लिप’ मर्मतका लागि भारतीय प्राविधिक टोली यसै हप्ता जनकपुर आइपुग्ने उहाँले बताउनुभयो । करिब पाँच हजार ‘रेल्वे क्लिप’ हराइरहेका छन् । क्लिपले रेलको लिकलाई स्थिर बनाएर राख्ने काम गर्छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।




प्रतिक्रिया