कोरोनाका कारण नेकपा सचिवालय बैठक स्थगित

कोरोनाका कारण नेकपा सचिवालय बैठक स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । शनिबारका लागि बोलाइएको बैठक अर्को सूचना जारी नहुन्जेलसम्मका लागि स्थगित भएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अर्को बैठकको मिति टुंगो नलागेको जानकारी दिए ।

‘अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित भएको छ । चाँडै नै सूचना आएपछि बैठकको मिति टुंगो लाग्छ’, थापाले काठमाण्डुपाटीसँग भने ।

नेकपा कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल गर्न बोलाइएको बैठक प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सहमतिमा स्थगित भएको हो ।

अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले दुवै अध्यक्षको सहमतिले बैठक स्थगित भएको जानकारी दिए । उनले कोरोना भाइरस संक्रमणकोबढ्दो जोखिमका कारण बैठक स्थगित भएको जानकारी दिए ।

‘कोरोनाका कारण दुवै अध्यक्षको सहमतिमा बैठक स्थगित भएको हो । बैठक अर्को सूचना नआउञ्जेलसम्मका लागि स्थगित भएको हो’, सापकोटाले भने ।

नेकपाभित्रको विवाद समाधानका लागि अध्यक्षद्वय ओली र प्रचण्डले महासचिव विष्णु पौडेलको संइोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलले गत शनिबार आफ्नो प्रतिवेदन दुवै अध्यक्षलाइ बुझाईसकेको छ ।

कार्यदलमा शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य थिए ।

सो प्रतिवेदन अध्यक्षद्वय ओली र प्रचण्डले छलफल गरी सचिवालय बैठकमा पेश गर्ने कार्यतालिका छ । भदौ १ गतेको नेकपा सचिवालय बैठकले सो कार्यदल गठनलाई अनुमोदन गरी कार्यादेश स्पष्ट गरेको थियो ।