काठमाण्डु – काठमाण्डु उपत्यकामा दिनहुँ कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमित बढेसँगै सरकारले तिनको उपचार गर्न नौ हजार शय्या तयार गर्ने भएको छ । तीमध्ये अधिकांश शय्या आइसोलेसनका लागि तयार भइसकेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ती शय्यामध्ये लक्षण भएका सङ्क्रमितको उपचार गर्न दुई हजार र बाँकी सात हजार लक्षण नभएका सङ्क्रमितलाई आइसोलेट गर्न तयार गर्न लागिएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका कोभिड–१९ इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस)का प्रमुख डा. गुणराज लोहनीले मन्त्रालयले सरकारी, निजी अस्पताल तथा अन्य भवन प्रयोग गरी आइसोलेसन सेन्टर तथा उपचारस्थल तयार पारेको जानकारी दिनुभयो । उहाँले नौ हजारमध्ये झन्डै ७० प्रतिशत शय्या प्राप्त भइसकेको भन्दै बाँकी शय्या थप्न आवश्यक अनुमगन तथा तयारी भइरहेको जानकारी दिनुभयो ।
उहाँले आइसोलेसनका लागि डेढ अर्ब रुपियाँ बजेट छुट्ट्याइएको जानकारी दिनुभयो । उक्त रकम भवनको भाडाबाहेक हो । “यो सरकारको नीतिअनुसार काम भएको हो”, डा. लोहनीले गोरखापत्रसँग भन्नुभयो, “सङ्क्रमितको सङ्ख्या दैनिक बढेसँगै आइसोलेसन सेन्टरको पनि व्यवस्था गर्नुपर्ने हुन्छ ।”
उहाँले लक्षण नभएका सङ्क्रमित राख्न अहिले नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र खरीपाटीमा दुई सय शय्या तयारी अवस्थामा रहेको र उक्त केन्द्र तीन सय शøया सम्मको बनाउने योजना छ भन्नुभयो ।
यस्तै कीर्तिपुरस्थित आयुर्वेद केन्द्रमा २२०, दहचोकस्थित मनमोहन मेडिकल कलेजको भवनमा ३२० शय्या तयारी अवस्थामा छ । यस्तै इचङ्गुुनारायणमा रहेको आपत्कालीन भवनमा ५०० शय्या, यती अस्पतालमा ५० शय्या तयारी अवस्थामा छ ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।




प्रतिक्रिया