बडादसैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे, कता फर्केर लगाउने टीका ?

बडादसैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे, कता फर्केर लगाउने टीका ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपालीहरूको महान् पर्व बडादसैं अर्थात् विजयादशमी आज देशभर हर्षोल्लासका साथ मनाइँदैछ।

आश्विन शुक्ल दशमीका दिन मनाइने यस पर्वमा मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप रातो टीका, जमरा र आशीर्वाद ग्रहण गरिन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज टीका लगाउन चाहनेका लागि बिहान १०ः२६ बजेको साइत उत्तम रहेको छ।

यद्यपि, विजयादशमी आफैँमा शुभ दिन भएकाले सर्वसाधारणले टीका लगाउन साइत हेर्नु नपर्ने समितिका अध्यक्ष प्रा. पुरुषोत्तम भट्टराईले बताएका छन्। राज्य सञ्चालकका लागि भने शुभ साइतमा टीका लगाउने परम्परा रहेको उनले बताए।

घटस्थापनाका दिन स्थापना गरी नौ दिनसम्म पूजा आराधना गरिएको देवीको प्रसादका रूपमा आज मान्यजनबाट टीका र जमरा लगाइन्छ।

घटस्थापनाका दिन स्थापना गरिएको कलशको जलबाट अभिषेक गरी टीका लगाउने परम्परासमेत छ।

टीका लगाउँदा कुन दिशा फर्किने?

धर्मशास्त्रविद् एवं समितिका पूर्वसदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार आज टीका लगाइमाग्ने व्यक्ति पश्चिम फर्कनुपर्छ भने टीका लगाइदिने व्यक्ति पूर्व फर्कनुपर्छ।

आज चन्द्रमा कुम्भ राशिमा रहेकाले यस्तो दिशा निर्धारण गरिएको उनले बताए। यो व्यवस्था कोजाग्रत पूर्णिमासम्म चन्द्रमा रहेको राशिका आधारमा परिवर्तन हुने बताइएको छ।

आज देवी विसर्जनको साइत बिहान ८ः४९ बजे रहेको समितिले जनाएको छ।

सत्यको विजयको प्रतीक

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा विजयादशमी मनाउने गरिन्छ।

धार्मिक मान्यताअनुसार त्रेतायुगमा भगवान् रामले रावणमाथि विजय प्राप्त गरेको दिनको सम्झनामा यो पर्व मनाउन थालिएको हो।

आज गुरु, पुरोहित, हजुरबा, हजुरआमा, बुबाआमा तथा अन्य मान्यजनबाट टीका, जमरा र प्रसाद ग्रहण गर्दै सुख, समृद्धि, दीर्घायु, यश र सफलताको आशीर्वाद लिने परम्परा छ।

टीका र जमरा लगाएर आशीर्वाद लिन आफन्त तथा मान्यजनको घर जाने चलनले आज देशभर चाडपर्वको रौनक थपेको छ।

नेपालका केही समुदायमा विजयादशमीका दिन मात्र टीका लगाउने चलन छ भने कतिपय जातजातिले आफ्नो कुलपरम्पराअनुसार सेतो टीका लगाउने गर्छन्।

आज टीका लगाउन नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्न सक्ने धार्मिक परम्परा छ।

विजयादशमीमा रातो टीकासँगै पहेँलो जमरा समृद्धिको प्रतीकका रूपमा लगाइन्छ। यस पर्वले पारिवारिक मिलन, आपसी सद्भाव र सामाजिक एकताको सन्देशसमेत दिने विश्वास गरिन्छ। राससको सहयोगमा