काठमाण्डु – प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई प्रधानमन्त्री भइसकेको सम्मानित व्यक्ति हो कि गाली शिरोमणि ? भन्दै प्रश्न गरेका छन् ।
सामाजिक सञ्जालमार्फत सल्लाहकार थापाले डा. भट्टराईले विगत तीन बर्षसम्म अर्थमन्त्री हुँदा डा. युवराज खतिवडाका राम्रा कामको पक्षपोषण नगरेको र अहिले उनी जिम्मेवारीबाट विदाई हुँदा गोहीका आँसु झारेजस्तो गर्नु र रूवाबासीको नक्कली नाटक प्रदर्शन गर्नु ? भन्दै प्रश्न गरेका छन् ।
उनले डा. खतिवडाको विदाइमा आँसु चुहाउने ठाउँ नभएको बताएका छन् । उनले दुई तिहाई निकट बहुमतको आडमा अर्थतन्त्रलाई गुणात्मक फड्को लगाउने अवसर डा. खतिवडाले कनिका छरेरै विताए, विज्ञको रूपमा पाएको शंकाको लाभ पूरै खेर फाले, ओलीको निरंकुश, भ्रष्ट र गफाष्टक नेतृत्वमा यत्तिको अर्को अर्थमन्त्री आउने सम्भावना भन्नु गलत भएको बताए ।
‘तपाईं रून र हाँस्न केही गर्नु पर्दैन, बरू यस्तो लेखेर दुनियाँ हँसाउनचाहिँ छाड्नुस । बहिदार बन्न सजिलो छ, बही बुझाउन गाह्रो भनेको संभवतः तपाईंको जस्तै हविगत हुँदा भनिएको होला ! पूर्व प्रधानमन्त्री पदको गरिमा र सम्मानको यसरी आफैले खिल्ली उडाएको त जगहँसाइ नै भयो, महोदय’, , उनले भनेका छन् ‘सामाजिक मर्यादा र शिष्टता पोलेर खाएपछि सायद यस्तै हुन्छ कि ?डा. बाबुराम भट्टराई देशको प्रधानमन्त्री भइसकेको सम्मानित व्यक्ति हो कि गाली शिरोमणि ? यस ट्वीटमा प्रयोग गरेका केही भाषा, गालीगलोज र सन्तुलन गुमाएकोजस्तो अभिव्यक्तिबाट के बुझ्ने ? के सिक्ने ? के अनुशरण गर्ने ?’
थापाले अरुको सम्मान गर्न नजान्नेले लोकबाट कसरी सम्मान पाउँछ भन्दै प्रश्न गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आँखा जुधाएर निरंकुश, भ्रष्ट र गफाष्टक नेतृत्व भन्न सक्नुहुन्छ भन्दै प्रश्न गरेका छन् ।
‘अरूको सम्मान नगर्नेले लोकबाट कसरी सम्मान र मर्यादा पाउँछ ? कसरी त्यसको अपेक्षा गर्नु ? प्रधानमन्त्री केपी शर्मा ओलीसँग आँखा जुधाएर तपाईं सामुन्नेमा उभिएर यसो भन्न सक्नुहन्छ ? ‘ओलीको निरंकुश, भ्रष्ट र गफाष्टक नेतृत्व… !’, उनले भनेका छन्, ‘केपी शर्मा ओली निरंकुश राजतन्त्रविरूद्द गोलघर, जेल र सेलमा १४ बर्ष जेल बसिरहँदा तपाईं ‘फण्डिङ पीएचडी गर्दै हुनुहुन्थ्यो, अहिले त्यही फण्डिङको ऋण चुक्ता गर्दै हुनुहन्छ कि नुनको सोझो मात्रै ?’
उनले डा. भट्टराईलाई आफ्ना सरकारको कार्यकालमा गरेका कामको स्मरण गर्न आग्रह गरेका छन् । उनले २०७० सालमा हिसिला यमी एसियाकै भ्रष्ट महिला रिपोर्ट आएको बिर्सनु भयोभ न्दै प्रश्न गरेका छन् । उनले नाम नलिइकन यमीसँग के सम्बन्ध छ ? भन्दै प्रश्न गरेका छन् ।
‘जबकि विप्पा संझौता गरेर जुवा खेलें भन्ने तपाईको आफ्नै कार्यशैली संझिनुस त ! कस्तो थियो, प्रधानमन्त्री हुँदा– जुवाडे भन्न अरूले पर्छ र ?’, उनले भनेका छन्, ‘जबकि न्यूयोर्क टाइम्सले २०७० सालमा एसियाकै भ्रष्ट महिला भनेर विशेष खोज रिपोर्ट प्रकाशित गरेको समेत बिर्सनु भयो ? उहाँसँग तपाईंको के सम्बन्ध पर्छ ? जबकि तपाईं र तपाईंकी श्रीमतीको सत्तामा हालीमुहाली चल्दा नातावाद, कृपावाद र फरियावादले माओवादलाई पनि धरधरी रूवाएको होइन र ?’
सल्लाहकार थापाले भट्टराईलाई तन–मन कहाँ छ आजभोलि ? यस्तो बेचैन र असन्तुलितचाहिँ किन बनिरहनु भएको हो ? भन्दै प्रश्न गरेका छन् ।
‘तपाईंहरूको तह र हैसियतमा दल, विचार र दृष्टिकोण नमिल्न सक्छन्, त्यसो हुँदैमा तपाईं यसरी मास्क मात्र लगाई अरू लुगाचाहिं लगाउनै बिर्सेर सामाजिक संजालमा निर्वस्त्र हुन सुहाउँछ त ?’, उनले भने, ‘तपाईंका आफ्नै निम्न केही शब्द फेरि एक पटक पढ्नुस त, कुन बिषालु नशा वा कसको रिमोट संचालनरसनकमा यतिसम्म लेख्न सक्नुभएको हो ?’




प्रतिक्रिया