काठमाण्डु – ‘काम छैन, रोगले भन्दा पनि भोकले मर्ने भइसक्यो । भारी बोक्छु’, रत्नपार्कमा धादिङ घर भएका गणेशबहादुर नेपालीले रुँदै मिडियाका अगाडि आफ्नो बेदना पोखे । उनले काम नपाएपछि पेटमा बाँधेको नाम्लो देखाउँदै भने, ‘नाम्लो यहाँ छ । कोठाबाट घरबेटीले भाडा तिर्न नसकेर निकाल्दी हाल्यो । ४५ सय भाडा छ ।’
उनले सडकमा खाना खान थालेको तीन महिना भयो । उनी अहिले कालीमाटीको सडकपेटीमा बस्दै आएका छन् ।
यी मजदूर त एक प्रतिनिधिमूलक पात्र मात्रै हुन । काठमाण्डु उपत्यकामा ज्याला मजदूरी गरेर पेट पाल्ने मजदूरहरुको संख्या ठूलो संख्यामा रहेको छ । भोको पेटसहित काम नपाएका मजदूरहरु अहिले सडकमा आउन थालेका छन् ।
नायक पल शाहले रोजागरी गुमाएर विचल्लीमा परेकाहरुलाई टुँडिखेलमा खाना खुवाएका छन् । उनले एक बालकलाई खाना खुवाउँदै भनेका छन्, ‘सानो भाई अंकितको मुहारमा एक दिनको लागि भए पनि हाँसो ल्याउन सके जस्तो लाग्छ मलाई । यसरि नै सबैको मुहारमा सधै भरि खुशी देख्न मन छ ।’
सरकारले कोरोना भाइरसको संक्रमणसँगै चैत ११ गतेदेखिको जारी लकडाउन आंशिक रुपमा अझै पनि जारी छ । सरकारले साउन ६ गते लकडाउन अन्त्यको घोषणा गरे पनि जिल्लागत रुपमा लकडाउन जारी छ । लकडाउनका कारण दैनिक ज्यालामजदूरी गर्ने, सडक व्यापार गर्नेहरु बढीजसो मारमा परेका छन् । प्रधनामन्त्री केपी शर्मा ओलीले कोही भोको पेट बस्नुनपर्ने बताउँदै आएका छन् । तर, प्रधानमन्त्रीले भने जस्तो हालको अवस्था विल्कुलै छैन् ।
प्रधानमन्त्रीले आइतबार निजी क्षेत्रका उद्योगी व्यावसायीहरसँगको भेटमा नेपाली जनता कसैलाई भोकै बस्न नदिन सरकार लागिपरेको बताउँदै गर्दा नेपालकै राजधानी काठमाण्डुमा दैनिक ज्याला मजदूरी गरेर खाने मजदूरहरुले सडकमा भोकै बसिरहेका थिए ।
‘नेपालमा काम गरेर खान समस्या छैन् । भौतिक श्रम गर्न विदेश जाने कुरामा अब खासै आकर्षण छैन । युवाहरू देशभित्र क्रियाशील हुनूस’, प्रधानमन्त्रीले भनेका थिए ।
सरकारले बिना तयारी लकडाउन गर्दा विशेषगरी दैनिक ज्याला मजदुरी गरेर पेट पाल्नेहरु मारमा परेका छन् । दैनिक मजदुरी गरेर पेट पाल्ने मजदूरहरुलाई सरकारले राहतको प्याकेज नल्याउँदा भोको पेट बस्न बाध्य छन् । दाताहरुले रोजगारी गुमाएकाहरुलाई टुँडिखेलमा खाना खुवाउँदै आएका छन् । तर, उनीहरुको यो एक्लो प्रयास पनि सार्थक नहुने देखिएको छ ।
काठमाण्डु उपत्यकाका जनप्रतिनिधिहरुले सडकमा देखिएका भोका मजदूरको विषयमा चासो नदिँदा थप समस्या देखिएको छ । काठमाण्डु महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले आफ्नो अधिकार क्षेत्रको विषय नभएको भन्दै उक्त विषयबाट पन्छिन खोजिन् । उनले मजदुरको विषय मात्र पूर्ण नहुने बताइन् । उपमेयर खड्गीले घर हुनेहरुले पनि राहत खोज्ने भएकाले थप समस्या देखिएको बताइन् ।
उनले काठमाण्डु उपत्यका नगरपालिका फोरमको हातमा यो अधिकार हुने भन्दै उपमेयरले आफूले केही गर्न नसक्ने बताइन् । उनले काठमाण्डु महानगरका मेयर विद्यासुन्दर शाक्य कोरोना संक्रमित भएर आइसोलेसनमा रहेकाले यस्ता मजदूरका लागि राहत प्याकेज ल्याउन थप समस्या भएको बताइन ।
‘सरकारको लकडाउने मजदूर वर्ग मारमा परेका छन् । घर हुनेलाई त समस्या आइसक्यो’, उनले भनिन्, ‘रोगभन्दा भोको पेट धेरै खतरा हुन्छ । यस विषयमा मैले आवश्यक पहल कदमी गर्नेछु । दैनिक ज्याला मजदूरी गरेर पेट पाल्नेहरुका लागि महानगरले केही राहतको प्याकेज ल्याउँछ ।’




प्रतिक्रिया