काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगनकुमार थापाले निषेधाज्ञालाई मात्रै कोरोना नियन्त्रणको औषधिको रुपमा लनि सरकारलाई चेतावनी दिएका छन् ।
प्रतिनिधिसभा सदस्यसमेत रहेका थापाले काठमाण्डु उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले दशैंसम्म निषेधाज्ञा लगाउन दिएको सुझावको चर्को विरोध गरेका छन् । उनले कर्मचारीको आदेशअनुसार जनता चल्न नसक्ने बताउँदै भोके पेट सडकमा उत्रिए सरकारको खैरियत बाँकी नरहेको चेतावनी दिएका छन् ।
‘यो सबै विषयमा राजनीतिक नेतृत्व नबोल्ने नै हो, आफ्ना कर्मचारीको अनुहार देखाएर काम चल्छ भन्ने लागेको हो र सिडियोको मुखबाट निषेधाज्ञाको आदेश र स्वास्थ्य मन्त्रालयको प्रवक्ताको मुखबाट कोरोना–अपडेट सुनाएर समाधान हुन्छ भन्ने सोचमा सरकार हो भने, प्रधानमन्त्रीज्यू, आम नेपालीको धैर्यताको बाँध कुनैपनि बेला फुट्नसक्छ’, उनले भनेका छन्, ‘कृपया नागरिकको धैर्यताको जाँच नगर्नुहोस् । कर्मचारीको काँधमा बन्दुक राखेर निषेधाज्ञाको गोली मात्रै जनतातर्फ नबर्साउनुहोस् । यस्तै चलिरहने हो भने,नागरिकले सरकारको कुरा सुन्न छाड्नेछन् । कोरोनाको अहिलेको अवस्थामा नागरिकले सरकारको कुरा सुन्न छाडे भने देश ठूलो संकटमा फस्नेछ ।’
सांसद थापाले सरकारको उपस्थिति शून्य रहेको बताएका छन् । उनले सरकारको प्रतिनिधि निषेधाज्ञा गर्ने सिडिओ र कोरोना अपडेट दिने प्रवक्ताको माध्यमबाट मात्रै देखिएको बताए ।
‘आजको दिनमा कोरोना महामारीका सन्दर्भमा सरकारको उपस्थिति केबल दुई स्थानमा भेटिन्छ । पहिलो निषेधाज्ञा घोषणा गर्ने प्र.जि.अ. को रुपमा र दोस्रो साँझ ४ बजे कोरोना सम्बन्धी आँकाडा पढ्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ताको रुपमा’, उनले भने, ‘कर्मचारीको अनुहार पछाडि लुकेको देशको राजनीतिक नेतृत्व बालुवाटारमा आईसोलेसनमा छ । संसद बन्द गरिएको छ, सरकार एक शब्द बोल्दैन, आम–नागरिक र जन–प्रतिनिधिको कुरा सरकारसम्म पु¥याउने सब माध्यम बन्द छन्, अनि प्र.जि.अ. को घोषणा र प्रवक्ताको अनुहार हेरेर हामीले सरकार पनि छ है भनेर मान्नु पर्ने ?’
त्यस्तै उनले आफुहरुले सरकारलाई काठमाण्डु उपत्यका लगायत केही हटस्पटहरूमा २ हप्ता कडाई गर्न सुझाव दिएको समरण गरेका छन् ।
‘यो अवधिमा जनतालाई घरमा राखेर सरकार नसुतोस् । संभाव्य जोखिम आंकलन गरेर युद्धस्तरमा अस्पताल केन्द्रीत लगायत सम्पूर्ण तयारी यसै समयमा गरेर , २ हप्तापछि जनजिवन सहज वनाउन सक्नेगरी गर्नुपर्ने काम यो अवधिमा गर्नुपर्छ’, उनले भनेका छन्, ‘कठिन अवस्थाको सामना गर्न जनतालाई सहायता प्याकेजको व्यवस्था गरियोस् । यसो नगरेर एकोहोरो ‘घर वास– सुरक्षित वास’ भनेर मात्र हुँदैन । तर, अफसोच तीन हप्ता पुगिसक्यो त्यस्तो गर्नुभएन ।’
सरकारले भोक र रोगबाट पीडित जनतालाई सिडिओ प्रवक्ताको भरमा छोड्न थालिएको बताएका छन्
। उनले यस्ता कदम तत्काल रोक्न पनि सरकारसाग माग गरेका छन् ।
‘सिडियो र प्रवक्ताको पछाडी लुकेर बसेको राजनीतिक नेतृत्व दुलोबाट निस्केर नागरिकसंग संवाद गर्ने हिम्मत गरोस् । अनेकन समस्याका बावजुद सिडियोको आदेश मानेर आम नागरिक घर भित्र बसिरहँदा, सरकार के गर्दै थियो त्यो बताओस् । स्वास्थ्यको क्षेत्रमा के के तयारी भयो ?’, उनले भने, ‘संक्रमितको संख्या थपिँदा उपचार गर्न सक्ने क्षमता कति बढ्यो ? काम नै नगरिरहेको रेस्पोन्स सिष्टमलाई कहाँ कहाँ बदलियो ? के–के गर्दै जाने योजना छ ? लकडाउनरनिषेधाज्ञा कसरी उपयोग गर्ने सोचेको , वा लकडाउन गरिरहने सोच हो ?’
सांसद थापाले भोको पेटको आगो निभाउन सरकारसँग के–कस्ता योजना छन् ? भनेर प्रश्न गरेका छन् । उनले बहाल तिर्न नसकेर बेघर भएकाहरुलाई छानो दिन, बेरोजगारहरुलाई फेरी रोजगारीमा फर्काउन सरकराका योजना के–के छन् ? भन्दै प्रश्न गरेका छन् ।
‘व्यापार र व्यवसायलाई आड र भरोस दिने तिम्रा कार्यक्रम के–के हुन् ? रोगको भन्दा पनि भोकको पिरले मल खोज्न लामबद्ध हजारौं किसानका लागि ५ किलो मलको पनि समयमा जोहो गर्न नसकेको सरकारले ति किसानका लागि के के ग¥यो, के गर्दैछ ?’, उनले भने, ‘स्वदेशमै केही गर्न सकिन्छ कि भनेर हजारौं माइलको कष्टकर यात्रा गरेर आएर पनि फेरी कुनै उपाय नभएर फर्कदै गरेका श्रमिक रोक्ने योजना के छन ? यातायात मजदुरदेखि दैनिक ज्यालादारीमा काम गर्नेसम्म, विभन्न पेसा व्यवसायमा लागेर महामारीकै कारण चुलो निभेकाहरूका लागि सरकारले के सोचेको छ ? दिनहूँ औषधि खाएर प्राण धान्नुपर्ने दीर्घरोगीदेखि नियमित स्वास्थ्य उपचार पाउन नसकेर मृत्युको मुखमा पुग्न वाध्य अनि गर्भवती महिला, वालवालिकाहरूका बारेमा के सोच छ ? जीवन जिउनका लागि अन्य कुनै उपाय नदेखेर आत्महत्या गर्न विवश हजारौं अनि नैराश्यता र उच्च मानसिक तनावमा बाँचिरहेका लाखौं नागरिकको अबस्था कसरी संवोधन गर्छौ ?’




प्रतिक्रिया