साउदी अरबमा ड्रोन आक्रमण, एक नेपालीसहित दुई जनाको मृत्यु

साउदी अरबमा ड्रोन आक्रमण, एक नेपालीसहित दुई जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- साउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा रहेको साउदी अराम्कोको परियोजनालाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा एक नेपालीसहित दुई विदेशी श्रमिकको मृत्यु भएको छ। घटनामा पाकिस्तानी र भारतीय नागरिक घाइते भएका छन्।

बुधबार बिहान भएको घटनामा एक नेपाली र एक प्यालेस्टिनी नागरिकको मृत्यु भएको साउदी अरबको ऊर्जा मन्त्रालयले जनाएको छ। घाइते हुनेमा एक पाकिस्तानी र एक भारतीय नागरिक छन्।

घटनामा मृत्यु भएका नेपालीको परिचय, ठेगाना र घटनाको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।

मन्त्रालयका अनुसार तेल क्षेत्रको प्रशोधन केन्द्रलाई लक्षित गरी आएको ड्रोनलाई साउदी हवाई प्रतिरक्षा प्रणालीले बीचमै रोकेको थियो। ड्रोन आक्रमणको प्रयासका क्रममा तेल क्षेत्रमा काम गर्ने ठेकेदार कम्पनीको एउटा सवारीसाधनमा आगलागी भएको थियो।

आगलागी तेल प्रशोधन केन्द्रको परिधिबाहिर भएको र त्यसले तेल क्षेत्रको सञ्चालनमा कुनै असर नपारेको मन्त्रालयले जनाएको छ।