काठमाण्डु- इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लब कोमासँग ४–१ गोलले पराजित भएको छ।
बुधबार राति भएको खेलमा घरेलु टोली कोमाले उत्कृष्ट प्रदर्शन गर्दै माइकल क्यारिकको टोलीलाई स्तब्ध बनाएको हो।
यस हारसँगै युनाइटेडको सबै प्रतियोगितामा जितविहीन यात्रा सात खेलसम्म लम्बिएको छ। पछिल्ला सात खेलमा उसले तीन बराबरी र चार हार बेहोरेको छ।
खेलको दोस्रो मिनेटमै निको पाजले गोल गर्दै कोमालाई अग्रता दिलाएका थिए। ह्यारी माग्वायरले उनलाई पर्याप्त ठाउँ दिएपछि पाजले उत्कृष्ट प्रहारमार्फत बललाई जाली चुमाए।
पहिलो हाफमा थप गोल हुन नसके पनि दोस्रो हाफ सुरु भएको चार मिनेटमै कोमाले अग्रता दोब्बर बनायो। पाजको पासमा टासोस डुभिकासले ४९औँ मिनेटमा गोल गरे।
त्यसको आठ मिनेटपछि पाजले व्यक्तिगत दोस्रो गोल गर्दै कोमाको अग्रता ३(० मा पुर्याए। युनाइटेडका कार्लोस बालेबाले आफ्नै हाफमा बल गुमाएपछि पाजले त्यसको फाइदा उठाएका थिए।
खेलको ७६औँ मिनेटमा ज्याकोबो रामोनले हेडरमार्फत गोल गरेपछि कोमाले ४(० को अग्रता बनायो। इन्जुरी समयको पहिलो मिनेटमा जोसुआ जिर्कजीले युनाइटेडका लागि एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
कोमाका लागि पाज गोल र सिर्जनात्मक खेल दुवैमा निर्णायक बने। उनले दुई गोल गर्नुका साथै डुभिकासलाई गोलको अवसर सिर्जना गरिदिएका थिए।
युनाइटेडले खेलभरि रक्षात्मक कमजोरी देखायो। मिडफिल्डमा विपक्षी खेलाडीलाई रोक्न नसक्नु, खेलाडीबीच तालमेलको कमी र विपक्षीलाई खुला ठाउँ दिनुले टोलीको समस्या उजागर गरेको थियो।
कप्तान ब्रुनो फर्नान्डेज पनि प्रभावकारी देखिएनन्। क्लबका पछिल्ला नौ खेलमा उनको नाममा केवल एक गोलमा संलग्नता रहेको छ।
क्यारिकले भने, ‘प्रदर्शन स्वीकार्य छैन’
हारपछि युनाइटेडका प्रशिक्षक माइकल क्यारिकले टोलीको प्रदर्शनप्रति असन्तुष्टि जनाएका छन्। ‘म निकै रिसाएको छु। तर अब अगाडि बढेर अर्को खेलका लागि तयार हुनुपर्छ। आजको रात सबैका लागि कठिन रह्यो,’ उनले भने।
उनले खेलाडीहरूले आफ्नो व्यक्तिगत प्रदर्शनभन्दा क्लबका लागि खेल्नुपर्नेमा जोड दिए। ‘यो मेरो लागि खेल्ने विषय होइन, यो क्लबका लागि खेल्ने विषय हो। म आफ्नो तर्फबाट सक्दो सबै गर्छु,’ क्यारिकले भने।
दबाब बढ्दै
युनाइटेडले सन् २०१५ को नोभेम्बरदेखि डिसेम्बरसम्म लगातार आठ खेल जित्न नसकेको थियो। त्यसपछि पहिलोपटक टोली सात खेलसम्म जितविहीन बनेको हो।
च्याम्पियन्स लिगमा पनि युनाइटेडको अवस्था कठिन बनेको छ। प्रतियोगिताका सुरुवाती तीन खेलबाट उसले तीन अंक मात्रै जोडेको छ।
खेलमा कोमाले ५९४ पास पूरा गरेको थियो। सन् २०१९ को अप्रिलमा बार्सिलोनाले युनाइटेडविरुद्ध ७२५ पास पूरा गरेयता च्याम्पियन्स लिगको कुनै पनि खेलमा विपक्षी टोलीले यति धेरै पास पूरा गरेको थिएन।
यस नतिजापछि प्रशिक्षक क्यारिकमाथि दबाब थपिएको छ। युनाइटेडले अब आइतबार प्रिमियर लिगमा घरेलु मैदानमा बर्नमाउथसँग खेल्नेछ।


प्रतिक्रिया