काठमाण्डु – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच अर्को महिना चीनमा ऐतिहासिक त्रिपक्षीय शिखर वार्ता हुन सक्ने भएको छ।
रुसी राष्ट्रपति कार्यालय क्रेमलिनका सहयोगी युरी उशाकोभले तीन नेताबीच नोभेम्बर १८ र १९ मा चीनको सेन्चेनमा हुने एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा भेटवार्ता हुन सक्ने बताएका हुन्।
रूसी सञ्चारमाध्यम भेस्तीलाई बुधबार दिएको अन्तर्वार्तामा उशाकोभले सम्भावित वार्ताका लागि बेइजिङले तयारी सुरु गरिसकेको बताए।
‘सबैजना यसका लागि तयार छन्। तर धेरै कुरा चीनले सम्मेलनको आयोजकका रूपमा कसरी भूमिका खेल्छ भन्नेमा निर्भर गर्दछ,’ उनले भने।
क्रेमलिनका अनुसार बुधबार सेन्ट पिटर्सबर्गमा पुटिन र अमेरिकी विशेष दूत स्टिभ भिटकफबीच भएको भेटवार्तामा पनि तीन नेताबीचको सम्भावित छलफलको विषय उठेको थियो।
वार्ता भएमा यो तीन नेताबीचको पहिलो त्रिपक्षीय भेट हुनेछ। यसअघि पुटिन र ट्रम्पले सन् २०२५ को अगस्टमा अमेरिकाको अलास्कास्थित एन्करेजमा भेट गरेका थिए। उनीहरूबीच पछिल्लोपटक अक्टोबर ९ मा टेलिफोन वार्ता भएको थियो।
पुटिन र सीबीच पनि नियमित संवाद हुँदै आएको छ। उनीहरूले यस वर्ष अगस्टमा बिश्केकमा भएको सांघाई सहयोग संगठनको शिखर सम्मेलनका क्रममा भेट गरेका थिए। त्यस्तै, ट्रम्प र सीबीच यस वर्ष मे महिनामा बेइजिङमा र गत महिना ह्वाइट हाउसमा भेटवार्ता भएको थियो।
आणविक निःशस्त्रीकरणदेखि युक्रेन युद्धसम्म छलफल हुन सक्ने
ट्रम्पले यसअघि तीन नेताबीचको त्रिपक्षीय वार्ताप्रति सकारात्मक धारणा व्यक्त गर्दै आणविक निःशस्त्रीकरणलाई छलफलको सम्भावित विषयका रूपमा उल्लेख गरेका थिए।
युक्रेन युद्ध अन्त्य गर्ने प्रयासमा पनि यस्तो भेटले योगदान पुर्याउन सक्ने विषयमा सोधिएको प्रश्नमा उशाकोभले भने, ‘एउटा बैठकले मात्रै सबै समस्या समाधान गर्न सक्दैन। वार्ता एक, दुई वा पाँच घण्टा नै चले पनि सबै समस्या समाधान गर्न सम्भव हुँदैन।’
सम्भावित भेटलाई सन् १९४५ को याल्टा सम्मेलनसँग तुलना गर्न सकिने विषयमा पनि उशाकोभले टिप्पणी गरेका छन्। उनले तीन नेताबीच भेट भएमा त्यसबारे व्यापक टिप्पणी र मूल्यांकन हुने बताए।
दोस्रो विश्वयुद्धको अन्तिम चरणमा सोभियत नेता जोसेफ स्टालिन, अमेरिकी राष्ट्रपति फ्र्याङ्कलिन डी रुजवेल्ट र बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिलबीच याल्टा सम्मेलन भएको थियो।
उक्त सम्मेलनले युद्धपछिको विश्व व्यवस्थाको स्वरूप निर्धारणमा महत्त्वपूर्ण भूमिका खेलेको थियो। यद्यपि, पुटिन, सी र ट्रम्पबीचको सम्भावित भेटको औपचारिक घोषणा भइसकेको छैन।


प्रतिक्रिया