काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारीको अवस्थामा सावधानी पूर्वक चाडपर्व मनाउन आग्रह गरेका छन् । मैथिली र थारु महिलाहरुले मनाउने जितिया पर्वको अवसरमा शुभकामना दिँदै उनले कोरोना भाइरसको महामारीको कारण पर्व घरमै बसेर सुरक्षित रहँदै चाड मान्न आग्रह गरेका हुन् ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताका बीचमा सुदृढ एकता भएको देश भएको उल्लेख गर्दै ओलीले प्रचलित पर्वहरुका विविधता हाम्रा बहुमूल्य पूँजी भएको बताएका छन् । उनले सहिष्णुता र सुदृढ एकता सहितको विविधतायुक्त यस पूँजीलाई हामीले देश निर्माणमा सदुपयोग गर्नुपर्ने स्पष्ट पारेका छन् ।
‘संवैधानिक व्यवस्था तथा राज्यको नीतिद्वारा हामीले यस्तो सांस्कृतिक विविधताको रक्षा गर्दै आएका छौं,’ शुभकामना सन्देशमा भनिएको छ‚‘यी पर्वहरुले हामीलाई परस्पर एकता, सहिष्णुता, सद्भाव र सुदृढ एकतामा आवद्ध गरेका छन् ।’
आफ्नो परिवारका सदस्यहरुको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै महिलाहरुले ब्रत बसी जितिया पर्व मनाइन्छ । आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी गरी तीन दिन मनाइने यस पर्वको सप्तमीको दिनलाई ‘लाहा खाएके’, अष्टमीको दिनलाई ‘उपास’ र नवमीको दिनलाई ‘पारन’ भनिन्छ । सप्तमीको बिहान ब्रतालुहरुले नदीमा गई तोरीको पिना प्रयोग गरी नुहाएपछि केही पिनालाई घिरौंलाको पातमा राखेर खोलामा बगाउने चलन छ ।




प्रतिक्रिया