चोभारस्थित सुख्खा बन्दरगाह निर्माण ठप्प,६ महिनाको म्याद थप गर्ने तयारी

चोभारस्थित सुख्खा बन्दरगाह निर्माण ठप्प,६ महिनाको म्याद थप गर्ने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  कोभिड १९ को प्रत्यक्ष प्रभाव चोभारस्थित सुख्खा बन्दरगाह निर्माणमा पनि परेको छ। कोरोना महामारी, लकडाउन र विभिन्न समयको निषेधाज्ञाले चोभारस्थित निर्माणाधीन सुख्खा बन्दरगाहको काम ठप्प भएको हो।

निर्धारित समयमा ७ महिनाको म्याद थप गर्दा पनि बन्दरगाह निर्माण कार्य सम्पन्न हुन सकेको छैन। म्याद थप गरी पछिल्लो समय यही सेप्टेम्बरमा निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने थियो। हालसम्म ४५ प्रतिशत मात्रै काम सम्पन्न भएको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ। हालसम्म कुल अनुमानित लागतको करिब ३५ प्रतिशत रकम खर्च भएको छ।

गत फेब्रुअरीमा सरकारले ७ महिनाको म्याद थप गरेको थियो। २०१८ सेप्टेम्बर १८ तारिखमा निर्माणका लागि ठेक्का लागेको उक्त बन्दरगाह निर्माण कार्य गत फेबु्रअरीको पहिलो साताभित्र सम्पन्न गर्नुपर्ने थियो। निर्माणको जिम्मा नेपालको आशिष निर्माण सेवा र चीनको सैङछीले संयुक्त रूपमा लिएको थियो।

‘तर, म्याद थप भएको दुई महिनापछि कोभिडको संक्रमण र त्यसपछि साढे तीन महिनाको लकडाउन र निषेधाज्ञाले निर्माण कार्य बिचमै रोकिएको हो’, नेपाल इन्टरमोडल यातायात विकास समितिका निर्देशक युवक डंगोलले भने, ‘यसले निर्माण सम्पन्न हुने अवधि थप ६ महिना लम्बिएको छ।’

डंगोलकाअनुसार कोभिडका कारण प्रत्यक्ष असर पुगेको आयोजनाको हकमा सरकारले ६ महिनाको म्याद थप्ने निर्णय गरेको छ। कोभिडका कारण यो बन्दरगाहमा पनि प्रत्यक्ष असर पुगेकाले थप ६ महिनाको म्याद थप गर्ने समितिले आन्तरिक तयारी गरिरहेको डंगोलले जानकारी दिए।

समितिका अनुसार पहिलोपटक थप भएको म्यादलगत्तै वर्षात सुरु भएको थियो। जसले गर्दा धेरै दिनसम्म काम अवरुद्घ हुन पुग्यो। लगत्तै कोभिड महामारी, लकडाउन र निषेधाज्ञाले निर्माण कार्य पूर्णरूपमा ठप्प भयो।यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।