विमान चार्टर गरी नेपालीलाई स्वदेश ल्याइयो

विमान चार्टर गरी नेपालीलाई स्वदेश ल्याइयो


काठमाण्डु – विश्वभरि फैलिएको कोभिड–१९ का कारण उत्पन्न विषम परिस्थितिमा बहराइनका लागि नेपाली राजदूतावासले नेपाल फर्कन चाहने १४६ जना नेपालीलाई विमान चार्टर गरेर बिहीबार नेपाल ल्याएको छ । कम्पनी बन्द भएर र श्रम सम्झौता सकिएर नेपाल फर्किने इच्छुक कामदारलाई स्वदेश फर्काइएको हो ।

राजदूतावासले बिदामा बहराइनबाट नेपाल आएपश्चात् फैलिएको कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय उडान स्थगित भई नेपालमै रोकिएर पुनः रोजगारीमा बहाल हुन बहराइन जान इच्छुक १४५ जना नेपालीलाई पनि पहिलो पटक बहराइन फर्काएको राजदूत पदम सुन्दासलेजानकारी दिए ।

बहराइनका लागि नेपाली राजदूतावासले गत हप्ता अन्तर्राष्ट्रिय उडान स्थगित भई नेपालमै रोकिएर पुनः रोजगारीमा बहाल हुन बहराइन जान इच्छुक २७४ नेपालीको नामावली सार्वजनिक गरेको थियो । राजदूत सुन्दासले भने, “कोरोना शुरु भएपछि सानो लगानीका होटल, रेस्टुरेन्टहरु बन्द भए, करीब एक हजार ३०० नेपालीले रोजगारी गुमाएका छन्, हामीले समस्यामा परेकालाई अप्रिल महिनामै नेपाल जान चाहनेलाई पठाएका थियौँ ।”

छुट्टीमा नेपाल फर्किएका ९२७ जनामध्ये १४५ पुनः रोजगारीमै बहराइन फर्किएका छन् । यसैगरी नेपाल फर्किन चाहने ३०० नेपालीमध्ये गत बिहीबार १४६ फर्किएका हुन् । बाँकी नेपाल फर्किन इच्छुक र नेपालबाट पुनः रोजगारीमा बहराइन फर्किन इच्छुकलाई विमान चार्टर गरेरै नेपाल ल्याउने र बहराइन जान चाहनेलाई लैजाने योजना रहेको राजदूत सुन्दासको भनाइ छ ।