भक्तपुर – सभामुख अग्नि सापकोटाले सिन्धुपाल्चोकको पहिरो हालसम्मकै ठूलो रहेको बताएका छन् । आइतबार बिहान बाह्रबिसे–७ घुम्थाङको पहिरोस्थलमा पुगेका सभामुख सापकोटाले असार २४ गतेबाट कुनै न कुनै पहिरो गइरहेको बताएका छन् ।
उनले पहिरो पीडितको राहत अस्थायी उद्धार लगायतका विषय संघीय सरकारले गर्ने बताएका छन् । उनले सिन्धुपाल्चोकमा विशेष अध्ययन टोली खटाइने बताए ।
‘संघीय सरकार मातहतको विशेष अध्ययन टोलीले फास्ट ट्र्याकबाट अध्ययन गर्ने र उक्त प्रतिवेदन सिधै प्रधानमन्त्री कार्यालयमा पेश गर्छौं’, सभामुख सापकोटाले भने ।
उनले सिन्धुपाल्चोक जिल्ला पहिरोको उच्च जोखिममा रहेकाले एकीकृत मोडेल र एकीकृत योजना निर्माण गर्नुपर्ने आवश्यकता देखिएको बताएका छन् ।
‘यो पहिरो साधारण किसिमको होइन । त्यसकारण यसलाई ग्म्भीर रुपले लिएर संघीय सरकारले पहल कदमी गर्नुपर्छ’, उनले भने ।
सभामुख सापकोटाले काठमाण्डु गएर प्रधानमन्त्री केपी शर्मा ओली र सम्बन्धित निकायलाई घटनाबारे जानकारी गराएर दिर्घकालिन समाधान खोजिने जानकारी दिए । उनले सिन्धुपाल्चोकको जमिन भाइब्रेसन भएकाले पहिरोको विस्फोटबारे अनुमान गर्न नसकिने अवस्था रहेको बताएका छन् ।
‘जमिनभित्र भाइब्रेसन भएजस्तो लाग्छ । कुन बेला कहाँ बिस्फोटन हुन्छ अनुमान नै गर्न नसकिने भयो’, उनले भने ।




प्रतिक्रिया