घटेन कोरोना सङ्क्रमण

घटेन कोरोना सङ्क्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा थप एक हजार ४५९ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण देखिएको छ । देशका विभिन्न प्रयोगशालामा १० हजार ३७५ जनाको पीसीआर परीक्षण गर्दा थप एक हजार ४५९ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । सोमबार एक हजार १७० जनामा कोरोना पुष्टि भएकोमा मङ्गलबार यो सङ्ख्या ह्वात्तै बढेको हो ।

हालसम्म कुल सङ्क्रमितको सङ्ख्या ५६ हजार ७८८ र सक्रिय सङ्क्रमितको सङ्ख्या १५ हजार ७७९ रहेको छ । प्रवक्ता डा. गौतमले पछिल्लो २४ घण्टामा देशभर थप एक हजार ६२ जना उपचारपछि निको भएर डिस्चार्ज भएको जानकारी दिनुभयो । योसहित नेपालमा डिस्चार्ज हुनेको कुल सङ्ख्या ४० हजार ६३८ पुगेको छ ।

देशभरका क्वारेन्टाइनमा छ हजार ८९२ जना रहेको जानकारी दिँदै होम आइसोलेसनमा सात हजार ६४० जना रहेको बताउनुभयो । त्यसैगरी संस्थागत आइसोलेसनमा आठ हजार १३९ जना रहेका छन् ।

यस्तै काठमाण्डु उपत्यकामा थप ६७६ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । उपत्यकामा यो सङ्ख्या सोमबार ५१२ थियो । मङ्गलबार काठमाण्डुमा ५५५, भक्तपुरमा ८६ र ललितपुरमा ३५ जनामा सङ्क्रमण देखिएको हो । योसँगै उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार ९२४ पुगेको छ । काठमाण्डुमा १० हजार ५८३, ललितपुरमा एक हजार २२६ र भक्तपुरमा एक हजार ११५ सङ्क्रमित पुगेका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।