निषेधाज्ञाले पनि रोकिएन संक्रमितको संख्या, मृत्युदर उच्च

निषेधाज्ञाले पनि रोकिएन संक्रमितको संख्या, मृत्युदर उच्च

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डुसहित तीन दर्जनभन्दा बढी जिल्लामा निषेधाज्ञा लगाइए पनि कोरोना संक्रमण रोकथाममा त्यसको प्रभाव न्यून मात्रै देखिएको छ। निषेधाज्ञा जारी गरिएपछि संक्रमितको संख्या घट्नु साटो झन्डै दोब्बरले बढिरहेको छ।

काठमाण्डु उपत्यकामा दिनहुँ ५ सयभन्दा बढी कामकाजी व्यक्ति संक्रमित भइरहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त तथ्यांकअनुसार भदौ पहिलो साता मुलुकभर संक्रमित थपिने क्रम दिनहुँ औसत ७ सय ५३ हाराहारी थियो। भदौ अन्तिम साता हरेक दिन १ हजारभन्दा बढी संक्रमित पुष्टि भएका छन्। भदौको अन्तिम दिन बुधबार मुलुकभर १ हजार ५ सय ३९ जनामा कोरोना देखिएको मन्त्रालयले पुष्टि गरेको छ। एकै दिन संक्रमित पुष्टि भएको यो हालसम्मकै उच्च संख्या हो।

त्यस्तै, मृत्युदर पनि उच्च छ। भदौ १ देखि १५ गतेसम्म कोरोनाबाट १ सय २४ जनाको मृत्यु भएको थियो। भदौ १६ गतेयता मृत्युदर झन् बढेको छ। भदौ १९ र २२ गते दुई दिनमा २८ जनाको ज्यान गयो। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भदौ ३१ गते ८ जनाको ज्यान गएको जानकारी दिए।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले साउनभन्दा भदौमा मृत्युदर बढेको बताए। अहिले मृत्युदर ०.६ प्रतिशत छ।

सरकारी अधिकारीले निषेधाज्ञाको प्रभावका कारण संक्रमितको संख्या घट्ने आशा व्यक्त गरेका थिए। तर, निषेधाज्ञाले उपत्यकामा संक्रमण विस्तारको ‘चेन ब्रेक’ गर्न नसकेको विज्ञले जनाएका छन्। दिनहुँ सबैभन्दा बढी संक्रमित काठमाण्डु उपत्यकामा भेटिन थालेका छन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिनेश गौतमले लेखेका छन् ।

काठमाण्डुमा सबैभन्दा बढी २१ देखि ४० वर्ष उमेर समूहका चलायमान व्यक्ति बढी संक्रमित भएका छन्। यो उमेरका २ हजार २ सय २३ जना पुरुष र ८ सय ३० महिला संक्रमित पुष्टि भएका छन्। ललितपुरमा भने २१ देखि ३० वर्ष उमेरका बढी संक्रमित छन्। यो उमेरका १ सय ८१ महिला र १ सय ६९ पुरुष संक्रमित पाइएको छ। भक्तपुरमा पनि २१ देखि ३० वर्ष उमेरसमूहका व्यक्ति नै बढी संक्रमित छन्।

आफू र आफ्नो परिवारको स्वास्थ्यका लागि उपत्यकावासी गम्भीर नदेखिएको प्रवक्ता डा. गौतमको भनाइ छ। ‘दिनहुँ अनुरोध गर्दा पनि नागरिकको बानी सुधार्न सकिएन’, उनले भने।

रोग नियन्त्रण महाशाखाका अनुसार ६० वर्षभन्दा माथिका नागरिकमा संक्रमणदर सामान्य छ। २० वर्षभन्दा कम उमेर समूहका व्यक्तिमा पनि संक्रमण न्यून छ।यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।