ट्रम्पको रिसले जेलेन्स्की दबाबमा, अमेरिकी दूतले नर्वेको बन्द कोठामा गरे हप्कीदप्की !

ट्रम्पको रिसले जेलेन्स्की दबाबमा, अमेरिकी दूतले नर्वेको बन्द कोठामा गरे हप्कीदप्की !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पछिल्लो विवादपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अमेरिकी अधिकारीहरूको दबाबमा परेका छन् ।

ट्रम्पका प्रतिनिधि स्टिभ विटकफ र उनका ज्वाइँ जेरेड कुशनरले नर्वेको राजधानी ओस्लोमा भएको बन्द कोठाको बैठकमा जेलेन्स्कीलाई हप्काएको समाचार सार्वजनिक न्युयोर्क टाईम्मले सार्वजनिक गरेको छ ।

मंगलबार भएको बैठकमा विटकफ र कुशनरले ट्रम्प जेलेन्स्कीसँग निकै असन्तुष्ट रहेको बताएका थिए । ट्रम्पविरुद्ध जेलेन्स्कीले दिएका अभिव्यक्तिप्रति अमेरिकी राष्ट्रपति आक्रोशित भएको उनीहरूले जनाएका थिए ।

जवाफमा जेलेन्स्कीले भने आफूले ट्रम्पविरुद्ध त्यस्तो कुनै अभिव्यक्ति नदिएको भन्दै स्पष्टीकरण दिएका थिए ।

ट्रम्प र जेलेन्स्कीबिच यसै महिना रुसबाट डिजेल खरिद गर्ने अमेरिकी निर्णय, रुसमाथिका केही प्रतिबन्ध खुकुलो पार्ने विषय र युक्रेनलाई दिइने अमेरिकी सहायता सीमित गर्नेबारे पटकपटक विवाद भएको छ ।

ट्रम्पसँग सजग विश्व नेताहरू

ट्रम्पको आक्रामक व्यवहारका कारण धेरै देशका नेताहरू उनीसँग प्रत्यक्ष विवादमा उत्रिनै चाहँदैनन् । ट्रम्पलाई जवाफ दिँदा उनी थप आक्रोशित भएर आफ्नो देशमाथि नयाँ भन्सार शुल्क लगाउन सक्ने उनीहरूको चिन्ता छ ।

ट्रम्प अरू देशका नेताबाट सम्मान र नरम व्यवहारको अपेक्षा गर्छन् । तर उनी स्वयम् भने अरूप्रति त्यस्तो व्यवहार नगर्ने आलोचना हुँदै आएको छ ।

यद्यपि उनको कुरा मान्ने वा उनीसँग राम्रो सम्बन्ध बनाउन चाहने नेताहरूप्रति ट्रम्पको व्यवहार तुलनात्मक रूपमा नरम हुने गरेको छ । यसमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनियाँ राष्ट्रपति सी चिनफिङ र उत्तर कोरियाली नेता किम जोङ उनको नाम लिइन्छ ।

ट्रम्पको दोस्रो कार्यकालमा विभिन्न देशका नेताहरूले अमेरिकी राष्ट्रपतिको आलोचनाको प्रतिवाद गर्ने कि मौन बस्ने भन्ने कठिन परिस्थिति सामना गरिरहेका छन् ।

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले भने अमेरिकी दबाबसामु झुक्नुको सट्टा उसले लगाएको भन्सार शुल्कको जवाफमा प्रतिशुल्क लगाएका थिए । तर जेलेन्स्कीको अवस्था क्यानडाका प्रधानमन्त्रीको भन्दा फरक छ । युक्रेनले अमेरिकासँग दूरी बढाउने पर्याप्त विकल्प पाएको छैन ।

रुसको आक्रमण सामना गर्न युक्रेनलाई अमेरिकी हतियार, गुप्तचर सूचना र अन्य सहयोग आवश्यक छ । त्यसैले जेलेन्स्कीले आफ्नो अडान राख्दै अमेरिकालाई चिढ्याउनबाट जोगिनेबीच सन्तुलन कायम गर्नुपरेको छ ।

यसअघि सन् २०२५ फेब्रुअरीमा ह्वाइट हाउसको ओभल अफिसमा भएको बैठकमा पनि ट्रम्पले जेलेन्स्कीलाई सार्वजनिक रूपमै हप्काएका थिए ।

बैठकमा नर्वे र फिनल्यान्डका नेता पनि

ओस्लोमा भएको बैठकको उद्देश्य ट्रम्प र जेलेन्स्कीबिच पछिल्लो समय बढेको तनाव कम गर्नु थियो । रुस भ्रमणमा जानुअघि ट्रम्पका विशेष दूत विटकफ नर्वेको राजधानी ओस्लो पुगेका थिए ।

बिरामी भएका कारण कुशनर उनीसँगै उपस्थित हुन नसके पनि भिडियो कलमार्फत् बैठकमा सहभागी भएका थिए ।

ट्रम्पको रुसप्रति बढ्दो झुकावलाई लिएर अमेरिकी मध्यावधि निर्वाचनसँग यसको सम्बन्ध रहेको हुन सक्ने चर्चा भइरहेको छ । तर बैठकबारे जानकार एक व्यक्तिका अनुसार विटकफ र कुशनरले रुससम्बन्धी अमेरिकी नीतिको घरेलु राजनीतिसँग कुनै सम्बन्ध नरहेको भन्दै जेलेन्स्कीलाई लामो समय बुझाउने प्रयास गरेका थिए ।

बैठकमा जेलेन्स्कीसँगै नर्वेका प्रधानमन्त्री जोनास गार स्टोर र फिनल्यान्डका राष्ट्रपति अलेक्जेन्डर स्टभ पनि सहभागी थिए । दुवै नेताले युक्रेनको बलियो समर्थन गर्दै आएका छन् ।

युरोपका अन्य नेताहरूजस्तै उनीहरू पनि ट्रम्प रुसतर्फ झुकिरहेकोमा असन्तुष्ट छन् । यद्यपि उनीहरू अमेरिकी राष्ट्रपतिलाई अनावश्यक चिढ्याउने पक्षमा छैनन् ।