काठमाण्डु – जल तथा मौसम विज्ञान विभागले आगामी मंगरबारदेखि मुलुकको केही भूभागमा वर्षा हुनसक्ने सम्भावना रहे पनि त्रसित नहुन सबैसँग अनुरोध गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजन महर्जनले हाल सामाजिक सञ्जालमा फैलाइएको हल्लालाई लक्षित गर्दै केही भागमा वर्षा भए पनि आत्तिनुपर्ने अवस्था नरहेको स्पष्ट गरे ।
‘आगामी मंगलबारदेखि वर्षाको सम्भावना छ तर कुन स्थानमा कति र कहिलेसम्म वर्षा हुन सक्छ ? निश्चित छैन,’ उनले भने, ‘अहिले सामाजिक सञ्जालतिर हप्ता दिनसम्म वर्षा हुने भनेर फैलाइएको खबरले विशेषगरी किसान त्रसित देखिन्छन् । मौसमी प्रणाली परिवर्तनशील छ, हल्लाको पछि नलाग्न र त्रसित नहुन सबैमा अनुरोध छ ।’
मौसमविद् महर्जनका अनुसार नेपालको सन्दर्भमा ३ दिनसम्म पूर्वानुमान धेरै हदसम्म मिल्ने तर हप्ता दिनसम्मको मिल्दैन । ‘अब केही दिनपछि आगामी हप्ता हुने वर्षाका बारेमा सूचना सम्प्रेषण गर्नेछौँ । मौसम तथा वर्षाको विषयमा विभागको आधिकारिक सूचनालाई मात्रै विश्वास गर्न हुन अनुरोध छ,’ उनले भने ।


प्रतिक्रिया