निशेष खनाल
काठमाण्डु – चीनसँगको सीमाना हुम्लामा हराएको भनिएको ११ नम्बर पिल्लर फेला परेको छ । केहीदिनयता सञ्चारमाध्यमहरुमा नेपालको ११ नम्बर पिल्लर हराएको भन्ने खबर बाहिरिएको थियो ।
हुम्लाको नाम्खा गाउँपालिकाको वडा नम्बर ६ स्थित लिमीको माथि ताकुलेकमा पिल्लर भेटिएको गाउँपालिका अध्यक्ष विष्णु बहादुर तामाङले जानकारी दिए । उनले हराएको भनिएको पिल्लर नेपाली पक्षको वेवास्ताका कारण वेवारिसे बनेको जानकारी दिए ।
उनले चीनले भवन बनाएको ठाउँबाट पिलर भेटिएको ठाउँसम्म पुग्न दुई दिन लाग्ने बताए । उनले उक्त पिल्लर हराएको भन्न नमिल्ने बताए । प्रमुख जिल्ला अधिकारी चिरिञ्जीवी गिरीको नेतृत्वमा खटिएको सीमा निरीक्षण टोलीले पिल्लर फेला पारेको अध्यक्ष तामाङले जानकारी दिए ।
‘हामीले खोजी नगरेर हो । अहिले खोजी गर्यौं भेटियो । ११ नम्बर पिल्लर भेटिएपछि यकिन भयो । अब वार्ताका माध्यमबाट सीमानाको स्पष्ट अभिलेख राख्छौं’, अध्यक्ष तामाङले भने ।
उनले चीनले भवन निर्माण गरेको स्थानमा प्राविधिकको टोलीले अध्ययन गरेर निष्कर्ष निकाल्न सकिने बताए । उनले प्रमुख जिल्ला अधिकारी गिरी नेतृत्वको टोली भोलीसम्म फर्किने र बिओपी स्थापनाका लागि पहल गर्नै जानकारी दिए । उनले सिडिओसँग सम्पर्क हुन नसकेकाले थप विवरण भन्न नसकिने बताए ।
‘त्यो क्षेत्रमा फोन टिप्दैन । उहाँहरु सायद भोली फर्किनुहुन्छ अनि विस्तृतमा जानकारी आउँछ’, उनले भने, ‘म घर बनाएको ठाउँमा पुगेर फर्किएँ ।उहाँहरु चाँही सुरक्षाटोलीसहित पिल्लर खोज्न माथि लाग्नुभयो ।’





प्रतिक्रिया