घाँटीबगरदेखि छाङरू जोड्ने घोडेटो बाटोको ट्र्याक बन्यो

घाँटीबगरदेखि छाङरू जोड्ने घोडेटो बाटोको ट्र्याक बन्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दार्चुला – नेपाली सेनाले व्यास गाउँपालिकाको घाँटीबगरदेखि छाङरू जोड्ने कडा चट्टानी भीरमा घोडेटो बाटोको ट्र्याक खुलाएको छ । गत जेठ ९ गतेबाट काम सुरु गरेको सेनाले सम्झौता अनुसार ५५० मिटर बाटोको ट्र्याक खुलाउने काम सकेको हो ।

कडा चट्टानी भूगोल, भारतीय अवरोध, प्रतिकूल मौसम र निर्माण सामग्री ढुवानीमा ढिलाइ हुँदा दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ सुरु गरेको बाटो निर्माणको काम चार महिनामा सकिएको हो । चट्टानी भीर फुटाएर खुलाइएको ट्र्याकमा सफाइको कामसमेत सकिएको नेपाली सेना दुर्गादल गुल्म दार्चुलाका गुल्मपति विक्रमदेव थापाले जानकारी दिनुभयो ।

यो बाटो खुलेसँगै व्यासवासीलाई नेपालकै बाटो भएर गाउँसम्म आवतजावत गर्न सहज भएको छ । व्यासको छाङरू र तिङ्कर गाउँमा बसोबास गरेका झन्डै दुई सय परिवारलाई दार्चुला सदरमुकाम कुन्चा सर्न सहज हुने सेनाले जनाएको छ ।

व्यासी हरेक वर्ष छ महिना व्यास र छ महिना सदरमुकाम खलङ्गा बस्ने गर्छन् । खलङ्गाको गर्मी छल्न गाउँ उक्लिएका व्यासी चिसो बढेपछि पुनः मङ्सिर पहिलो साता खलङ्गा झर्ने गर्छन् । विगतमा नेपालतर्फ बाटो नहँुदा व्यासी भारतीय बाटो प्रयोग गरेर गाउँ जाने गरेका थिए । यो वर्ष सीमा विवाद, लकडाउन र सीमा नाका बन्द भएकाले व्यासीलाई गाउँ फर्किन समस्या थियो ।

घोरेटो बाटो निर्माण भएसँगै व्यास पुग्न नेपाल र भारत दुवैतर्फको प्रशासनको अनुमति लिनुपर्ने बाध्यता अन्त्य हुने व्यास गाउँपालिका–१ का स्थानीयवासी नगेन्द्र तिङ्करीले जानकारी दिनुभयो । चट्टानी भूगोलले काममा केही ढिलाइ भए पनि स्थानीयवासीका लागि सहज रूपमा आवतजावत गर्न मिल्ने गरी बाटो निर्माण भएको तिङ्करीले बताउनुभयो ।

घाँटीबगरमा सेनाले बाटो निर्माण सम्पन्न गरे पनि तम्बाकु भीर क्षेत्रमा जोखिम कायमै रहेको व्यास गाउँपालिका–१ का वडाध्यक्ष अशोकसिंह बोहराले जानकारी दिनुभयो । घाँटीबगरमा सेना बसेको क्याम्पको तल ठूलो पहिरो गएको छ । त्यो क्षेत्रमा पनि आवतजावत गर्न निकै जोखिम छ, वडाध्यक्ष बोहराले भन्नुभयो, तम्बाकु भीरमा व्यास गाउँपालिकाको बजेटमार्फत बाटो खुलाउने काम भए पनि कडा चट्टान भएकाले खुल्न कठिन छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।