लिबियामा डुङ्गा दुर्घटना : एघार जनाको शव निकाल्यो, २८३ जनाको उद्धार

लिबियामा डुङ्गा दुर्घटना : एघार जनाको शव निकाल्यो, २८३ जनाको उद्धार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ट्रिपोली-  लिबियामा भएका डुङ्गा दुर्घटनामा परेका ११ व्यक्तिको शव निकाल्नुको साथै अन्य २८३ जनालाई त्यहाँको जलसेनाले जीवितै उद्धार गरेका छन् । देशको पश्चिमतिर पर्ने छट्टाछट्टै तटिय क्षेत्रहरुमा भएको दुर्घटनाबाट उनीहरुलाई उद्धार गरिएको सैन्य अधिकारीहरुले जानकारी दिएका छन् ।

‘उद्धारमा खटिएको हाम्रो सैन्य टोलीले ११ जनाको शव निकालेको छ भने ८३ जनालाई जीवितै उद्धार गरेको छ, सब्रथा तटदेखि आठ किलोमिटर टाढा रबरको डुङ्गा दुर्घटना भएको थियो,’  जल सेनाका प्रवक्ता अयोब क्वासेमले भने । उद्धार गरिएका सबैजना अफ्रिकी मुलुकका आप्रवासी रहेको जनाइएको छ । घटनास्थल राजधानी ट्रिपोलीदेखि ४५ किलोमिटर टाढा पर्दछ भने घटना स्थानीय समयानुसार दिउँसो १ बजे भएको थियो ।

प्रवक्ता क्वासेमले उद्धारकर्ताहरुले अर्को ठाउँबाट अरु २०० जना आप्रवासीहरुलाई पनि उद्धार गरेको जानकारी दिए । ती उद्धार गरिएका मानिसमध्ये ३८ जना बालबालिका रहेका छन् । यो घटनास्थल भने राजधानी ट्रिपोलीदेखि १५० किलोमिटर टाढा पर्दछ । दोस्रो ठाउँबाट उद्धार गरिएका आप्रवासीहरु अफ्रिकन र एसियन मूलका रहेको उनले बताए ।

सन् २०११ मा लिबियाका पूर्व नेता मोहम्मर गद्दाफीको पतनपछि युरोप जाने बाटोको रुपमा लिबियालाई आप्रवासीहरुले प्रयोग गर्ने गरेका छन् ।सन् २०१८ को पहिलो चौमासिकमा मात्रै लिबियाका विभिन्न तटिय क्षेत्रबाट चार हजार भन्दा बढी आप्रवासीलाई उद्धार गरिएको अधिकारीहरुले जनाएका छन् । रासस/सिन्ह्वा