काठमाण्डु– सरकारले नेपाल प्रहरीमा डिआईजीको दरबन्दी थप गर्ने प्रक्रिया अघि बढाएको छ । आफु निकट अधिकारीलाई उच्च तहमा बढुवा गर्न यसअघि प्रहरीमा दरबन्दी बढाउने पुर्ववर्ती सरकारकै प्रचलनलाई निरन्तरता दिने तयारीमा वर्तमान सरकार लागेको हो ।
प्रहरीमा गत चैतमा १३ डिआईजीको दरबन्दी कटौती भएको थियो । तत्कालिन प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले हचुवाको भरमा सरकारले प्रहरीका उच्च अधिकारीको दरबन्दी कटौती गरेको भन्दै असन्तुष्टि जनाएपनि प्रहरीमा सरकारले डिआईजीको दरबन्दी कटौती गरेको थियो । दरबन्दी कटौती गरेपछि आईजीपी ज्ञवाली र गृहसचिव महेश्वर न्यौपानेबीच समेत मनमुटाव भएको थियो । ‘संगठनलाई खासमा आवश्यक पर्ने दरबन्दी कति हो भन्ने कुरालाई ख्याल गर्नेभन्दा पनि आफु निकटलाई बढुवा गर्न दरबन्दी थप्ने र कसैलाई रोक्न कटौती गर्ने खेल हुन्छ । यो निकै दुखद विषय हो ।’ प्रहरीका एक उच्च अधिकारीले भने ।
सरकारले दरबन्दी कटौती गरेको एक वर्ष नपुग्दै फेरी प्रहरीमा पांच जना डिआईजी थप्ने तयारी भएको हो । त्यसका लागी गृहमन्त्रालयले प्रक्रिया अघि बढाइसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाबीच प्रहरीमा डिआईजीको दरबन्दी थप्ने सहमतिअनुसार मन्त्रालयले ओएनएम गरेर प्रक्रिया अघि बढाइसकेको छ । मन्त्रालयले मन्त्रिपरिषदमा उक्त प्रस्ताव पठाइसकेको स्रोतको दावी छ । मन्त्रिपरिषदबाट डिआईजीको दरबन्दी पारित हुने वित्तिकै प्रहरीमा बढुवा प्रक्रिया अघि बढाउने मन्त्रालयको तयारी छ ।
हाल नेपाल प्रहरीमा तीन जना डिआईजीको दरबन्दी रिक्त छ । पांच जना डिआईजीको दरबन्दी थप भएसंगै प्रहरीमा ८ जनाको बढुवा प्रक्रिया अघि बढनेछ । प्रहरीमा दरबन्दी थप्न संगठनकै उच्च अधिकारीहरु नेताहरुको घरदैलो गरिरहेका छन् ।
बढुवाको लागी अघिल्लो व्याचबाट एसएसपीहरु गणेश ऐर,पुुरुषोत्तम कंडेल,दिलिप चौधरी,राजेश कुमार लाल कर्ण,देव बहादुर बोहरा, दिवेश लोहनी,सौरभ राणा, रामकृपाल शाह,उमेश रन्जितकार, प्रकाश अधिकारी, सुसिल कुमार यादव र मुकुन्दराज आचार्य प्रतिस्पर्धामा छन् । त्यसैगरी एसएसपीहरु हरिराज वाग्ले,पुजा सिंह,विक्रम चन्द,नलप्रसाद उपाध्याय,देवबहादुर वोगटी, मोहन कुमार आचार्य,राजेन्द्र प्रसाद चौधरी र नरबहादुर खत्रीलगायत बढुवाको दौडमा छन् ।
पछिल्लो व्याचबाट एसएसपीहरु दिपक थापा, सन्दिप भण्डारी, टेकप्रसाद राई र भिम ढकाल समेत डिआईजी वन्ने लविङमा छन् । सिनियर एसएसपीहरु धेरै बांकी हुंदा हुंदै पनि उनिहरु भावी नेतृत्वका दावेदार भएकाले डिआईजी बन्ने चर्को दौडमा छन् ।
प्रहरीमा बढुवाका लागी आकांक्षी धेरै भएपछि प्रहरी मुख्यालयल र गृहमन्त्रालय समेत दरबन्दी थप्न लविङमा लागेको थियो ।
प्रधानमन्त्री ओली प्रहरीमा दरबन्दी थप्न सहमत भएपछि प्रहरीको बढुवा समेत रोकिएको छ । थप दरबन्दीपछि बढुवा प्रक्रिया अघि बढाउने सहमति भएको गृहमन्त्रालय स्रोतले दावी गरेको छ ।
प्रहरीमा यसअघि झै आफ्नो स्वार्थमा दरबन्दी थप्ने र कटौती गर्ने परम्परालाई ओली नेतृत्वको सरकारले पनि निरन्तरता दिने भएको छ । यसअघि दरबन्दी कटौती गर्ने आफ्नै निर्णय विपरित सरकार प्रहरीमा दरबन्दी थप्न कस्सिएको हो ।
नेपाल प्रहरीमा यसअघि ४१ जना डिआईजी र १६ जना एआईजीको दरबन्दी समेत थियो । तर, ओली नेतृत्वको सरकारले नै तिन वटै सुरक्षा निकायमा दरबन्दी कटौती गर्ने निर्णय गरेको थियो ।




प्रतिक्रिया