काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सांसदहरुले दसैं भत्तावापत पाएको रकम फिर्ता गर्ने निर्णय गरेको छ । सोमबार बिहान सभापति शेरबहादुर देउवाले कांग्रेस सांसद पाएको दसैं भत्तावापतको सबै रकम फिर्ता गर्न निर्देशन दिएका हुन् ।
सभापति देउवाले जनता उपचार नपाएर छट्पटाइरहेको अवस्थामा सांसदले भत्ता दिने निर्णय गर्ने संघीइ संसद सचिवालयको कमजोरी भएको भन्दै उक्त रकम फिर्ता गर्ने निर्णय सार्वजनिक काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडलाई निर्देशन दिएका हुन् ।
कोरोना भाइरसको महामारीका कारण जनता विचल्लीमा परेको अवस्थामा जनताका प्रतिनिधिहरुले दसैं भत्ता वापतको रकम लिएको भन्दै चौतर्फी आलोचना भएको थियो ।
यस्तो छ विज्ञप्ति
प्रेस विज्ञप्ति
१. कोभिड १९ (कोरोना भाईरस) बाट देशभर दिन प्रति दिन संक्रमित र मृत्यु हुनेको संख्या बढी रहेको अवस्थामा परीक्षण र उपचारको दायरालाई बढाउँदै जानु पर्नेमा त्यसको ठिक विपरित नेपाल सरकारको कोरोना भाइरसको परीक्षण र उपचार स्वयं नागरिकले आफै गर्नुपर्ने तथा संक्रमितको होम आइसोलेसनमा मृत्यु भएमा आफन्तले नै शव व्यवस्थापन गर्नुपर्ने जस्ता गैरजिम्मेवार तथा गलत निर्णयले यो महामारीले विकराल रुप लिने हुँदा नेपाली कांग्रेस संसदीय दल गम्भीर आपत्ति प्रकट गर्दछ ।
सम्मानित सर्वोच्च आदलतको कोरोना भाइरस परीक्षण र सम्पूर्ण उपचार निःशुल्क गर्नु भन्ने आदेशलाई समेत सरकारले अवज्ञा गर्दै जनहित विपरितको निर्णय गरेको छ । संविधान, कानून तथा अदालतको आदेश समेत सरकारले पालना नगरे कस्ले गर्ने ? कोरोना भाइरस एक महामारी संक्रामक रोग भएको कारणले यसको परीक्षण र उपचारको दायित्व सरकारको हो । सरकारले हालै गरेको निर्णयले भोलिका दिनमा भयावह स्थिति सृजना हुने निश्चित छ । तसर्थ, आमनागरिकको जीवन माथि नै खेलवाड हुने गरी गरिएको निर्णयलाई तत्काल सच्याउन जोडदार माग गर्दै जनता प्रति उत्तरदायी, संवेदनशील र गम्भीर बनी आमनागरिकको जीवन रक्षामा अग्रसर हुन सरकारको ध्यानाकर्षण गराउँदछौं ।
२. कोरोना भाइरस महामारीको कारणले उत्पन्न हालको विषम परिस्थितिमा आमनेपाली जनताले रोग, भोक, अभाव, पिडा र कठिनाई भोगीरहेका अवस्थामा जनप्रतिनिधिलाई दशै भत्ता वितरण गर्ने सरकारको निर्णय समय सान्दर्भिक र उचित नभएकोले नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्नुहुने संघीय संसदका सदस्यहरुलाई उपलब्ध गराईएको दशै भत्ता वापतको रकम नेपाली कांग्रेसले फिर्ता गर्ने निर्णय गरेको छ । उक्त रकम वापत हुन आउने (रु ४३,२०,८१०।– त्रिचालिस लाख बीस हजार आठ सय दश) जनताको उपचारका लागि संघीय संसद सचिवालय मार्फत नेपाल सरकारले स्थापना गरेको “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष” मा जम्मा गर्ने निर्णय गर्दछ ।
जय नेपाल !
बालकृष्ण खाण
प्रमुख सचेतक




प्रतिक्रिया