सौराहाको ‘केटो’लाई चीन पठाउने तयारी

सौराहाको ‘केटो’लाई चीन पठाउने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रत्ननगर- चितवन राष्ट्रिय निकुञ्जले रत्ननगरको सौराहामा पालनपोषण गरेर राखिएको गैँडाको बच्चा (केटो) लाई चीन पठाउने तयारीे गरेको छ । केटोको स्वास्थ्य अवस्था राम्रो भएकाले चीन पठाउन लागिएको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले चिनियाँ र नेपाली पशु चिकित्सकसहित वन्यजन्तु प्राविधिज्ञको टोलीले लैजान योग्य छ भनेर प्रमाणित गरेमा केटोलाई चीन पठाइने जानकारी दिए ।

अहिले केटोलाई राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाको खोरमा राखेर पालनपोषण गरिँदै आएको छ । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले केटोलाई चीन पठाउन निकुञ्जले प्रस्ताव गरिसकेको बताए।

उनले  सकेसम्म उक्त केटो पठाउन पाए जंगलबाट अरु तीनवटा मात्रै नियन्त्रणमा लिन सहज हुने बताए । गएको साउन २८ गते बाढीले बगाएर भारतको शिवपुरीगढी पु¥याएको केटोलाई गत भदौ १० गते उद्धार गरिएको थियो । केटोलाई दैनिक दुध, बन्दा, गाँजर, स्याउ दिने गरिएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका निमित्त कार्यालय प्रमुख रामकुमार अर्याल अहिले केटो तन्दुरुस्त रहेको बताउछन् । कोषका पशु चिकित्सक डा अमिर षडौलाले नियमित परीक्षण हुने गरेको बताउँदै अहिले स्वास्थ्य राम्रो भएको उल्लेख गरे।

छिमेकी मुलुक चीनलाई दुईजोडी गैँडा उपहार दिने सरकारी निर्णयअनुसार चितवन निकुञ्जमा गैँडा नियन्त्रणका लागि प्रक्रिया शुरु भएको छ ।एक सातादेखि यहाँ टोली परिचालन भएका छन् । आगामी असारभित्रमा दुईजोडी गैँडा चीन पठाउने योजना रहेको निकुञ्जले जनाएको छ । सौराहामा रहेको केटो चीन पठाउन योग्य भए निकुञ्जबाट अरु एक भाले र दुई पोथी नियन्त्रणमा लिइनेछ । रासस