काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले पार्टीभित्र गम्भीर संकट उत्पन्न भएको बताएका छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री पौडेलले नेकपाको एकीकृत र अविभाज्य अस्तित्व सामू गम्भीर संकट उत्पन्न भएको बताएका हुन् ।
उनले राजनीतिक स्थायीत्व सुनिश्चित गर्ने, संविधानको प्रभावकारी कार्यान्वयन गर्ने र ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाँक्षा पूरा गर्दै समाजवादतर्फ अघि बढ्ने उद्देश्यका साथ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता सम्पन्न भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएको स्मरण गरेका छन् ।
महासचिव पौडेलले पार्टी एकता सम्पन्न भएसँगै एक वर्षभित्र महाधिवेशन आयोजना गर्ने र सुदृढ एकताका साथ अघि बढ्ने जिम्मेवारी उपस्थित भएको बताएका छन् ।
‘तर, आजसम्म आईपुग्दा पनि पार्टी एकताको बाँकी काम पूरा हुन नसकेको मात्र होइन, पार्टीको एकीकृत तथा अविभाज्य अस्तित्वमाथि समेत बारम्बार प्रश्न उठेको छ । यतिबेला पार्टी एकता गंभीर संकटको मोडमा आईपुगेको छ’, उनले भनेका छन् ।
महासचिव पौडेलले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचमा उच्पन्न अन्तरविरोधले पार्टी एकताको औचित्य खण्डित हुन नसक्ने बताएका छन् ।
‘आपसी अन्तरविरोधलाई संवादको कार्यसूची बनाउन, सहमतिका साथ समाधान खोज्न र पार्टी एकताको रक्षा एवम् विकासका लागि सकारात्मक योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरुलाई अनुरोध गर्दछु’, उनले भनेका छन् ।




प्रतिक्रिया