काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जित्ने टोलीले १ करोड ५० लाख प्राप्त गर्ने भएको छ ।
अघिल्लो संस्करणको तुलनामा यसपटक विजेता टोलीको पुरस्कार राशि ४० लाख रुपैयाँले बढाइएको नेपाल क्रिकेट संघ (क्यान) ले आईतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
प्रतियोगितामा दोस्रो स्थान हासिल गर्ने टोलीले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो स्थानमा रहने टोलीले ३० लाख पाउने क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काले जानकारी दिए ।
गत संस्करणमा लुम्बिनी लायन्सले उपाधिसँगै १ करोड १० लाख पुरस्कार पाएको थियो । यसपटक विजेताको पुरस्कार राशि बढाइएसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ ।
एनपीएलको तेस्रो संस्करण सोमबारदेखि कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ । यसपटक पनि प्रतियोगितामा ८ वटा टोलीको सहभागिता रहनेछ ।


प्रतिक्रिया