काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्यहरुको छुट्टै बैठक बसेको छ । पछिल्लो समय नेकपाभित्र चर्किँदै गएको विवादसँगै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा छुट्टै भेला बसेको हो ।
भेलामा अध्यक्ष प्रचण्डले शनिबार भएको बालुवाटार वार्ताबारे ब्रिफिङ गरेका थिए । आजको भेलामा उपाध्यक्ष वामदेव गौतम, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, सचिवालय सदस्य रामबहादुर थापा बादल, र नारायणकाजी श्रेष्ठ उपस्थित थिए । अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अलग गरेर जान सुझाव दिएको ब्रिफिङ गरेका थिए ।
‘शनिबार भएको भेटवार्तामा प्रधानमन्त्रीले पार्टी अलग–अलग गरेर जाऔं भन्नुभएको कुरा अध्यक्ष प्रचण्डले बिफ्रिङ गर्नुभयो,’ छलफलमा सहभागी एक नेताले भने, ‘पछिल्लो समय देखा परेको घटनाक्रमले प्रधानमन्त्रीले अध्यादेशमार्फत पार्टी फुटाउने मनशाय देखाउनुभएको छ । तर, हामी एकताको पक्षमा छौं ।’
प्रधानमन्त्री ओलीले स्थायी कमिटी र सचिवालय बैठकका सबै निर्णय मान्न आफू तयार नभएको बताउँदै आएका छन् । उनले अध्यक्ष प्रचण्डसँगको भेटवार्तामा सबै निर्णयहरु मान्नुपर्ने अनिवार्य नभएको बताएका छन् ।
नेकपा स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयन गर्न आलटाल गरिरहेका बेला प्रधानमन्त्री ओली पक्षका नेताहरुले अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व माग गरेको हल्ला फैलाएका छन् । पार्टीका हरेक बैठकले गरेको निर्णय कार्यान्वयन नभएकाले अब पेलेरै जाने निर्णय भएको बैठकमा सहभागी ती नेताले बताए ।
‘कोरोना भाइरसको महामारीले जनता आक्रान्त भएको अवस्थामा प्रधानमन्त्रीले केही राहतका प्याकेजहरु ल्याउनुपर्ने तर, उल्टो जनतासँग पैसा असुलेर उपचार गराउने, रअ प्रमुखको भेटवार्ताको जानकारी नदिने, आफ्नै कार्यकर्ता मारिँदासमेत न्याय नदिने र कर्णालीमा अनवश्यक विवाद झिक्ने काम प्रधानमन्त्रीजीबाटै भएको छ’, भेलामा सहभागी एक सचिवालय सदस्यले भने, ‘आजको भेलाले केही कदम चाल्नुपर्ने आवश्यकता औंल्याएको छ ।’
आइतबार दिउँसो महासचिव विष्णु पौडेलले पार्टी एकता संकटमा परेको बताएका थिए । महासचिव पौडेलले पार्टी एकता सम्पन्न भएसँगै एक वर्षभित्र महाधिवेशन आयोजना गर्ने र सुदृढ एकताका साथ अघि बढ्ने जिम्मेवारी उपस्थित भएको बताएका छन् ।
‘तर, आजसम्म आईपुग्दा पनि पार्टी एकताको बाँकी काम पूरा हुन नसकेको मात्र होइन, पार्टीको एकीकृत तथा अविभाज्य अस्तित्वमाथि समेत बारम्बार प्रश्न उठेको छ । यतिबेला पार्टी एकता गंभीर संकटको मोडमा आईपुगेको छ’, उनले भनेका छन् ।
महासचिव पौडेलले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचमा उच्पन्न अन्तरविरोधले पार्टी एकताको औचित्य खण्डित हुन नसक्ने बताएका छन् ।




प्रतिक्रिया