काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोन संवाद भएको छ ।
सोमबार भएको टेलिफोन संवादमा प्रधानमन्त्री अोलीले अध्यक्ष प्रचण्डलाई ‘वान टू वान’ वार्ता गरेर सहमति खोज्न प्रस्ताव गरेका छन् । प्रधानमन्त्री ओलीले दुवै अध्यक्ष बसेर सहमतिका साथ अगाडि बढ्न आग्रह गरेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।
प्रधानमन्त्रीले पार्टी विघटना गर्दा जनमतको अपमान हुने भएकाले मिलेर जान आग्रह गरेका छन् । उनले असमझदारी रहेका विषयमा दुवै अध्यक्षबीच छलफल गर्न सकिने बताएका छन् ।
‘सोमबार अध्यक्ष प्रचण्डलाई टेलिफोन गरेर प्रधानमन्त्रीले बालुवाटार बोलाउनुभएछ । उहाँले आत्मआलोचनासहित दुवै अध्यक्ष बसेर सहमतिका साथ अगाडि बढौं भन्नु भएको कुरा मैले बुझेको छु’, ती स्थायी कमिटी सदस्यले भने ।
तर, अध्यक्ष प्रचण्डले ‘वान टू वान’ वार्तामा बस्न अस्वीकार गरेका छन् । उनले स्थायी कमिटी बैठकमा छलफल गर्न आफू तयार भएको जानकारी दिएका थिए ।
‘पहिले दुई अध्यक्षबीचमा भएका सहमतिहरु कार्यान्वयन नभएकाले सामूहिक रुपमा छलफल गर्न तयार भएको जवाफ दिनुभएछ’, प्रचण्ड निकट ती नेताले भने ।
प्रधानमन्त्री अोलीले स्थायी कमिटी बैठक बोलाउन अस्वीकार गरेका छन् । उनले दुवै अध्यक्ष समस्या समाधान गरेपछि मात्रै सामूहिक बैठक बस्न सकिने जवाफ दिएका छन् ।
गत शनिबार नेकपाका सचिवालय सदस्यहरुको छुट्टै बैठक बसेको थियो । पछिल्लो समय नेकपाभित्र चर्किँदै गएको विवादसँगै अध्यक्ष प्रचण्ड निवास खुमलटारमा छुट्टै भेला बसेको हो ।
भेलामा उपाध्यक्ष वामदेव गौतम, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, सचिवालय सदस्य रामबहादुर थापा बादल, र नारायणकाजी श्रेष्ठ उपस्थित थिए । अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अलग गरेर जान सुझाव दिएको ब्रिफिङ गरेका थिए ।




प्रतिक्रिया