दसैँमा ६४२ छोरीचेलीलाई नि:शुल्क मोटरबाइक सेवा

दसैँमा ६४२ छोरीचेलीलाई नि:शुल्क मोटरबाइक सेवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार, चेलीलाई उपहार’ अभियानअन्तर्गत यस वर्षको दसैँमा माइतीघर आवतजावत गर्ने ६४२ छोरीचेलीलाई नि:शुल्क मोटरबाइक सेवा दिएका छन् ।

सामाजिक सेवाको भावना बोकेका युवा समूहले दसैँको अवसर पारेर ४ दिन (कात्तिक ३ गतेदेखि ६ गतेसम्म) सञ्चालन गरेको अभियानमा ६४२ छोरीचेलीले नि:शुल्क मोटरबाइक सेवा दिएका हुन् ।

अभियानको पहिलो दिन कात्तिक ३ गते ५० जना, कात्तिक ४ गते ११० जना, कात्तिक ५ गते २५२ जना र कात्तिक ६ गते २३० जना चेलीले नि:शुल्क माटरबाइक सेवा सेवा लिएको अभियानका संयोजक सञ्जयकुमार राईले जानकारी दिए ।

‘तेस्रो संस्करणका रुपमा सञ्चालन गरिएको अभियानमा ५० जना राइडर सहभागी भएका थिए । अभियानमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका वडाध्यक्ष दानबहादुर राईसमेत राइडरका रूपमा खटिनुभएको थियो,’ उनले भने, ‘माइती तथा मावली घर जाने आउनेक्रममा नि:शुल्क मोटरबाइक सेवा पाउँदा चेली हर्षित छन् । सामाजिक सेवाभावले सञ्चालन गरिएको अभियान तिहारमा पनि जारी रहन्छ ।’

तिहारमा माइती पुज्न आवतजावत गर्ने चेलीका लागि कात्तिक २४ गतेदेखि २६ गतेसम्म नि:शुल्क मोटरबाइक सेवा दिने तयारी गरिएको युवा समूहले जनाएको छ । १० स्थानीय तह रहेको जिल्लामा विभिन्न राजनीतिक दलमा आस्था राख्ने युवाले विक्रम संवत् २०८१ देखि ‘दसैँ, तिहार, चेलीलाई उपहार’ अभियान सञ्चालन गर्दै आएका छन् ।

जिल्लाका युवा समूहले दिक्तेलबजारस्थित किरातचोकमा सचिवालय स्थापना गरेर माइतीघर जाने छोरीचेलीलाई दिक्तेल बजारबाट ३५ किलोमिटर दूरीसम्ममा नि:शुल्क मोटरबाइक सेवा उपलव्ध गराउने व्यवस्था मिलाएको छ ।

यातायातका साधन नपाएर अलपत्र परेका, आर्थिक अवस्था कमजोर भएका, यातायात भाडा तिरेर यात्रा गर्न नसक्ने अवस्था भएका महिला, बालबालिका र वृद्धालाई लक्षित गर्दै नि:शुल्क मोटरबाइक सेवा दिन अभियान सञ्चालन गरिएको छ ।

अभियानका दौरानमा कुदाइने सवारीसाधन (मोटरबाइक)का लागि सहयोग जुटाएर इन्धनको प्रबन्ध मिलाउने गरिएको संयोजक राईले जानकारी दिए । विशुद्ध सामाजिक सेवाअन्तर्गत विक्रम संवत् २०८१ सालमा ३४५ जना र विक्रम संवत् २०८२ सालमा ७५० जना चेलीलाई नि:शुल्क यातायात सेवा प्रदान गरिएको जनाइएको छ ।

नेपाल सरकारको सेवा सुविधा प्राप्त, बहालवाला जनप्रतिनिधि र घरमा सवारीसाधन भएका चेलीले भने यो सुविधा पाउने छैनन् । अभियानअन्तर्गतका नि:शुल्क यातायात सेवा लिन चाहने यात्रुले बढीमा ५ केजी तौलसम्मका मात्रै झोला तथा माइतीका लागि कोसेली बोक्न पाउने सर्तसमेत राखिएको छ ।

जिल्लाका अधिकांश सडक कच्ची अवस्थाका रहेकाले दुर्घटनाका जोखिमलाई मध्यनजर गरेर यात्रुका लागि तौल निर्धारण गरिएको अभियानका संयोजक राईले जानकारी दिए । नि:शुल्क यातायात सेवा अभियानमा स्व:स्फूर्त स्वयंसेवकको भूमिका निर्वाह गर्न चाहने जोकोहीले सहयोग गर्नसक्ने जनाइएको छ ।

स्वयंसेवक बन्न चाहने युवाको सवारीसाधनको ब्लुबुक र सवारी चालकको चालक अनुमतिपत्र (लाइसेन्स) अनिवार्य हुनुपर्ने पत्रकार सम्मेलनमा जनाइएको छ । शुभेच्छुकको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन गरिँदै आएको अभियानका लागि एकपटकमा करिब ४ लाख खर्च हुने गरेको जनाइएको छ ।