काठमाण्डु – साझा पार्टीले काठमाण्डुको खुला मञ्चमा निःशुल्क खाना खुवाउन रोक्ने काठमाण्डु महानगरको निर्णयबारे आपत्ति जनाएको छ ।
मंगलबार पार्टीका प्रवक्ता शरदराज पाठकले एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको महामारीले थल परेका असहायहरुलाई खाना खुवाउन रोक्न दिएको निर्देशनको विरोध गरेका छन् । साझा पार्टीले उक्त निर्णय तत्काल फिर्ता गर्न सरकारसँग माग गरेको छ ।
‘तुरुन्त आफ्नो निर्णय फिर्ता गरोस् र कोरोना कहर कायम रहुन्जेल श्रमिक तथा असहायहरूलाई कि ‘काम’को व्यवस्था गरोस् कि ‘माम’को व्यवस्था गरोस् । कोरोना संक्रमणका कारण श्रमिक तथा असहायहरू भोकभोकै मर्नु पर्ने अवस्था सृजना भएका बेला सरकार स्वयंले आफ्ना सम्पूर्ण संयन्त्र परिचालन गरेर उनीहरूको हेरचाह गर्नु पर्दथ्यो। तर उल्टो नागरिक स्तरबाट भइरहेको परोपकारी कार्य समेत रोक्न निर्देशन दिनु अमानवीयताको पराकाष्ठा हो’, उनले भनेका छन् ।
सरकारको उक्त कदमको विरोध जनाउन भोलि बुधबार बिहान र बेलुका खुलामञ्चमा खुवाइने खानाको खर्च साझा पार्टीका सदस्य हरूले बेहोर्ने भएका छन् । उक्त कार्यमा साझा पार्टीका स्वयंसेवीहरू पनि खाना खुवाउने कार्यमा सरिक हुनेछन् ।
‘शान्तिपूर्ण रूपमा गरिने यस्तो मानवीय कार्यलाई हेरौँ कसरी रोक्दो रहेछ, यो निर्दयी सरकारले’, विज्ञप्तिमा भनिएको छ, ‘साझा पार्टीको उक्त कदम महिनौँदेखि निरन्तर रूपमा अतुलनीय शुभ कार्य गरिरहेका परोपकारी समूहप्रतिको नैतिक र सानो आर्थिक सहयोग मात्र हो ।’
साझा पार्टीले नेपालभित्र र बाहिर रहेका सबै नेपालीलाई खुलामञ्च लगायतका स्थानमा दैनिक सयौँ नेपालीको पीडामा मलम लगाइरहेका समूहहरूलाई सहयोग गर्न आग्रह गरेका छन् ।




प्रतिक्रिया