काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्दैछ । शुक्रबार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने भएको हो ।
बहुमत सचिवालय सदस्यहरुको निरन्तरको दबाबपछि प्रधानमन्त्री केपी शर्मा ओली बैठक बोलाउन तयार भएका थिए । आजको बैठकमा सरकारका कामकारबाही, मन्त्रिमण्डल पुर्नगठन, राजदूतको नियुक्तीको सिफारिस , पार्टीको विवाद समाधान र स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयन लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।
त्यस्तै सचिवालय सदस्यहरुले केन्द्रीय कमिटी बैठक अगावै स्थायी कमिटीको बैठक बोलाउन पनि माग गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
मन्त्रिपरिषद् पुनर्गठन, राजदूतको नियुक्तीको सिफारिस, कर्णाली प्रदेशको विवाद र पर्सामा आफ्ना कार्यकर्ताको हत्याकाण्डपछि उत्पन्न नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको हो । प्रधानमन्त्री ओलीले पार्टीलाई एकलौटी ढंगले अगाडि बढाएको, सरकारले जनपक्षीय काम गर्न नसकेको आरोप बहुमत सचिवालय सदस्यहरुले लगाउँदै आएका छन् ।
आजको बैठकबारे धारणा तय गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच जना सचिवालय सदस्यहरुसँग बिहीबार नै छलफल गरेका छन् । उनले आजको बैठकबारे रणनीति तय गर्न वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।




प्रतिक्रिया