इस्लामावाद – पाकिस्तानले एक सातापछि इरानसँग जोडिएको ग्वादर जिल्लाको गब्द–रिमदान सीमा नाका पुनः सञ्चालनमा ल्याएको छ।
शनिबारदेखि सीमा नाका खुलाएसँगै एलपीजी ग्यास र अत्यावश्यक खाद्यान्न बोकेका ट्रकको आवागमन पुनः सुरु भएको छ।
पाकिस्तानको बलुचिस्तान प्रान्तस्थित ग्वादर र इरानको सिस्तान प्रान्तलाई जोड्ने गब्द–रिमदान नाका सन् २०२० मा औपचारिक रूपमा सञ्चालनमा आएको थियो।
पाकिस्तानले गत असोज ३१ ९अक्टोबर १७० देखि यो नाका र ताफ्तान सीमा नाकाबाट हुने व्यापार अचानक स्थगित गरेको थियो।
सीमा अधिकारीहरूले असोज ३ (अक्टोबर १६) वा त्यसभन्दा अगाडि जारी भएका ढुवानी कागजात भएका मालवाहक ट्रकलाई मात्रै सीमा पार गर्न अनुमति दिएका छन्।
ग्वादर चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष मिर नवीद जान कलमतीले शनिबार बिहानदेखि आयात–निर्यात ढुवानी पुनः सुरु भएको पुष्टि गरेका छन्।
उनका अनुसार नाका खुल्दा दुवै देशमा रोकिएका व्यापारी र ढुवानी व्यवसायीलाई तत्काल राहत मिलेको छ।
यसका साथै एलपीजी आपूर्ति पुनः सहज हुने भएकाले पाकिस्तानमा देखिएको ग्यास अभाव कम हुनुका साथै ऊर्जा र खाद्यान्नको मूल्यवृद्धिमा पनि केही राहत पुग्ने अपेक्षा गरिएको छ।
आक्रमणपछि व्यापार ठप्प
सीमा नाका पुनः खोल्ने निर्णय स्थानीय प्रशासनले सुरक्षा अवस्थाको समीक्षा गरेपछि गरेको हो। व्यापारिक गाडीको सुरक्षाका लागि अतिरिक्त सुरक्षा बलसमेत परिचालन गरिएको छ।
गत बिहीबार अज्ञात बन्दुकधारीहरूले बन्द सीमा नजिक पार्किङमा रहेका मालवाहक सवारीसाधनमाथि आक्रमण गरेका थिए। आक्रमणमा दर्जनौं ट्रकमा आगजनी भएको थियो भने अन्य केही सवारीसाधनमा क्षति पुगेको थियो।
ती ट्रकहरू व्यापार बन्द भएपछि एक सातादेखि सीमाक्षेत्रमै अलपत्र परेका थिए।
पाकिस्तानको वाणिज्य मन्त्रालयले अक्टोबर ३ मा जारी गरेको व्यापारसम्बन्धी आदेश तत्काल प्रभावबाट फिर्ता लिँदै अक्टोबर १७ देखि गब्द(रिमदान र ताफ्तान दुवै नाकाबाट हुने व्यापार रोकेको थियो।
मन्त्रालयले व्यापार किन रोकिएको हो भन्ने स्पष्ट कारण भने सार्वजनिक गरेको थिएन। सीमा नाका पुनः सञ्चालनसँगै पाकिस्तान–इरानबीचको सीमापार व्यापार फेरि सक्रिय हुने अपेक्षा गरिएको छ।


प्रतिक्रिया